वीरगन्ज : आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बालेन्द्र शाहको नेतृत्वमा दुई तिहाइको शक्तिशाली सरकार बन्दा पनि व्यवहारमा सरकार शक्तिहीन र लाचार बनेको टिप्पणी गरेका छन् । सरकार जनतासँगको सम्पर्क टुटाएर लिकभन्दा बाहिर गएको कारण अहिले पनि देश अन्त्यहीन सङ्कटमा रहेको साहको टिप्पणी छ ।
आजपा सम्मिलित ९ दलीय मोर्चाको मधेस प्रदेश समन्वय समितिद्वारा आज (शनिबार) मधेस प्रदेशको वीरगन्जको टाउन हलमा आयोजित बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले सरकार विपक्षीहरूको कारण कमजोर देखिएको हैन, रास्वपा भित्रैबाट असहयोगको कारण लाचार देखिएको दाबी गरे । उनले संसदमा रहेको सङ्ख्याको कारण वर्तमान सरकार शक्तिशाली देखिए पनि उसले लिएको नीति र गरिरहेको व्यवहारको कारण बिचारा अवस्थामा पुगेको टिप्पणी गरे । उनले प्रधानमन्त्री शाहलाई एम्बिशन पूरा गर्ने हो भने एक्सनमा उत्रिन सुझाव दिए ।
प्रधानमन्त्री बने लगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकमार्फत एक सय दिनमा एक सय वटा शासकीय सुधारको कार्यक्रम ल्याउँदा जनतामा प्रधानमन्त्री शाहप्रति उत्साह देखिए पनि अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम ल्याउँदा त्यो उत्साह घटेको र बजेट ल्याउँदासम्म सबै निराश हुने अवस्था आएको कुरा पनि पूर्वमन्त्री साहले स्मरण गराए । उनले अहिले पनि समय घर्कि नसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई जङ्गी अड्डातिर नभएर जनताको भर पर्न सुझाव दिएका छन् । यस्तै, उनले प्रधानमन्त्रीलाई सङ्ख्या होइन सत्य, बल होइन विधि र सेना होइन संविधानको साथमा हिँड्न पनि सुझाए ।
उनले मुलुकमा पछिल्लो समय देखा परेका धार्मिक सद्भाव बिथोलिएको सुनसरी देवानगञ्जको घटनादेखि दुई साताअघि रसुवा भोटेकोशी बाढीको कारण निम्तिएको विपत्तिको सङ्कटको समयसम्म रास्वपा नेतृत्वले प्रधानमन्त्रीलाई बाइपास गरेर सक्रियता देखाएको घट्नाको स्मरण गराउँदै सरकारलाई नसघाएको गम्भीर आरोप लगाए । विदेश सम्बन्ध र कूटनीतिक अभ्यासको सवालमा पनि रास्वपाका सभापति रवि लामिछाने एकातिर र प्रधानमन्त्री शाह अर्कोतर्फ उभिएको र सोहीअनुसार समानान्तर अभ्यास गरिएको साहको आरोप छ ।
साहले रास्वपाका सभापति लामिछानेले समानान्तर सरकार चलाउन खोज्दा सरकारको कार्यसम्पादनमा असर परिरहेको कुरा सचेत नागरिकले गुनासो पोख्न थालेको पनि टिप्पणी गरे । उनले रास्वपाले भागबन्डाको राजनीति गरेको र नेता तन्त्रको अभ्यास गरेको कुरा पछिल्लो समय सरकारका मन्त्रीहरू र रास्वपाका नेताहरूबिच भएको छेडखानी र आरोप प्रत्यारोपबारे सार्वजनिक भएको घट्नाले पनि पुष्टि गर्ने बताए ।
सरकार सामान्य डेलिभरी दिन नसकेर आलोचित बन्ने अवस्था आउनु दुःखद भएको उनको टिप्पणी छ । ग्याँसको अभावमा जनताको चुलो निभ्ने अवस्था आएको यति दिन बित्दा पनि समस्या समाधान नभएको र सेवामा लाइन घट्नुको साटो बढ्नुले पनि सरकारको असफलता देखाइसकेको साहले जिकिर गरे ।
उनले वर्तमान सरकार बने पछिका नियुक्तिमा पनि सरकारले समावेशिताको सिद्धान्तलाई धज्जी उडाउँदै महिला, मधेसी, दलितहरूलाई उपेक्षा गरेको आरोप लगाए । ती नियुक्तिहरूमा कर्णाली र दलितको प्रतिनिधित्व शून्य बनाइएको भन्दै उनले सरकारलाई समावेशी प्रतिनिधित्वको मूल मर्मलाई ख्याल गर्न पनि सुझाए ।
सो क्रममा उनले आफूहरू देशलाई दिशा दिनको लागि एक ठाउँमा उभिएको र सङ्घर्षको सहयात्रा सुरु गरेको सुनाए । उनले आफूहरू सत्ताको कुनै खेलमा नलागी सङ्घर्षको बाटोमा उभिएकोले राष्ट्रिय राजनीतिमा पनि सोहीअनुसार हस्तक्षेप गरिने नेता तथा कार्यकर्ताहरूलाई विश्वास दिलाए । उनले व्यवस्था विकृत भएको कारण देशको अवस्थामा बदलाव नआएको र झनै सङ्कट गहिरिँदै गएको दाबी गरे । अहिलेको राजनीतिक व्यवस्थामा सुधार नगरेसम्म देशले निकास नपाउने उनको दाबी छ ।
उनले अहिले फेक शासनको कारण जनतामा एक किसिमको भय र त्रास देखिएको भन्दै मोर्चाले भय र त्रासको अवस्थालाई चिर्ने स्पष्ट पारे । उनले नयाँका नाममा आएकाहरूले अहङ्कारयुक्त नेपाल बनाउन चाहेको भए पनि आफूहरू अहङ्कारमुक्त नेपालको पक्षमा उभिएको बताए ।
उनले भने, ‘उनीहरू एकाङ्की र एकाधिकारपूर्ण राजनीति रुचाउँछन्, तर हामी सहअस्तित्व र सहकार्य चाहन्छौँ । हामी उनीहरूजस्तो सिन्डिकेट होइन सोलिडारिटी चाहन्छौँ । सर्वसत्तावाद होइन, सर्वस्वीकार्य बहुलवाद हाम्रो चाहना हो ।’ साहले नयाँहरुले सामाजिक सञ्जालमात्र बुझेको तर आफूहरू समाज बुझेको नेता भएको पनि टिप्पणी गरे ।
मोर्चामा आवद्ध नेताहरूले सरकारमा सहभागी भएर सेवा गर्ने अवसर पाउँदा छोटो समयमा पनि प्रभावकारी काम गरेर अमिट छाप छोडेको साहको दाबी छ ।
उनले भने, ‘अहिले यो मञ्चमा उभिएका हामी नेताहरूले सरकारमा बसेर काम गर्ने अवसर एकदमै छोटो समयको लागि पाएको छौँ, तर पाएको अवसरको सही सदुपयोग गरेका छौँ । चाहे उपेन्द्रजीले विदेश नीतिको सम्बन्धमा खेलेको भूमिका होस वा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा हुँदा बनाएको मानक होस, वा जनार्दन शर्माले लोडसेडिङ अन्त्य गरेर लगाउनुभएको गुण नै किन नहोस्, वा मैले जम्मा पाँच महिना सहरी विकास मन्त्रालयको नेतृत्व हुँदा इतिहासमै छाप छोड्ने गरी काम गरेको छु, आज मधेसका स्मार्ट सिटीको कुरा गर्नुहोस्, वा ठुला ठुला सभा हलको कुरा होस, मैले अवसर पाउँदा सही सदुपयोग गरेको छु ।’
फरक प्रसङ्गमा देशलाई दुख्दा मधेसको पनि मन दुख्ने गरेको र मधेसी जनता सधैँ देशको दुःखमा साथै उभिने गरेको भन्दै भूकम्प, कोभिड महामारीदेखि हालैको रसुवाको भोटेकोशी बाढीको वितण्डाले निम्त्याएको महाविपत्ति र पीडाको घडीमा मधेसले साथ दिएर महानता देखाएको पनि साहले सुनाए । आफूहरू देश जोड्ने अभियानमा रहेको उल्लेख गर्दै उनले अग्रगामी मोर्चाले देशलाई एकताको सूत्रमा बाँध्ने विश्वास दिलाए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij