रौतहट : जेनजी आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट फरार भएका कैदीबन्दीमध्ये एक वर्ष बितिसक्दा पनि ११७ जना अझै पक्राउ पर्न सकेका छैनन्।
गत वर्ष भदौ २४ गते भएको आन्दोलनका क्रममा गौर कारागारबाट ठूलो संख्यामा कैदीबन्दी फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार फरार भएकामध्ये नेपाली र भारतीय नागरिकसमेत छन्।
रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालका अनुसार आन्दोलनका क्रममा गौर कारागारबाट २६४ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये २४७ जना नेपाली र १७ जना भारतीय नागरिक थिए।
प्रहरीले विभिन्न समयमा खोजी तथा पक्राउ अभियान सञ्चालन गर्दै हालसम्म १४७ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा १४१ जना नेपाली र ६ जना भारतीय नागरिक छन्।
तर अझै ११७ जना फरार रहेको एसपी रिजालले बताए। उनका अनुसार पक्राउ पर्न बाँकीमध्ये १०६ जना नेपाली र ११ जना भारतीय नागरिक रहेका छन्।
प्रहरीले फरार कैदीबन्दीको खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। विभिन्न स्थानमा सूचना संकलन तथा सम्भावित लुकिछिपी बस्ने ठाउँमा निगरानी बढाइएको प्रहरीको भनाइ छ।
आन्दोलनमा ४४ करोडभन्दा बढीको क्षति
जेनजी आन्दोलनका क्रममा रौतहटमा कारागारबाट कैदी फरार हुनुका साथै सरकारी तथा निजी सम्पत्तिमा समेत ठूलो क्षति पुगेको थियो।
जिल्ला प्रहरीको विवरणअनुसार आन्दोलनका क्रममा रौतहटमा सरकारी तथा निजी गरी ४४ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति नष्ट भएको थियो।
आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा २४ जना घाइते भएका थिए। घाइतेमध्ये १९ जना प्रहरी कर्मचारी र ५ जना सर्वसाधारण रहेका थिए।
आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सबैभन्दा ठूलो क्षति भएको प्रहरीको विवरणमा उल्लेख छ।
ढुंगामुढा र आगजनीका क्रममा एक डीएसपी, दुई इन्स्पेक्टर, दुई सई, चार असई, एक वरिष्ठ हवलदार, चार हवलदार, एक सहायक हवलदार र चार प्रहरी जवान घाइते भएका थिए।
आन्दोलन नियन्त्रणका क्रममा चन्द्रनिगाहपुर क्षेत्रमा प्रहरीले १२१ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। आगलागीमा परी ९५ राउन्ड गोली जलेर नष्ट भएको तथा ७१ राउन्ड प्रत्यक्ष फायर गरिएको प्रहरी तथ्यांकमा उल्लेख छ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ना१झ १३२१ नम्बरको महेन्द्रा स्कार्पियोसहित ११ वटा सवारीसाधन पूर्ण रूपमा जलेका थिए। थप पाँच वटा सवारीसाधन आंशिक र एउटा सामान्य क्षतिग्रस्त भएको थियो। सवारीसाधनमा मात्रै करिब ६३ लाख ४४ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
त्यस्तै हेलमेट, लाठी, शिल्ड, राइट कन्ट्रोल, हतकडी, साबेल, कोदालो, बेरेट क्याप, बेल्ट तथा कपडालगायतका सुरक्षा सामग्रीसमेत जलेर नष्ट भएका थिए।
सरकारी संरचनामा ३६ करोडभन्दा बढी क्षति
तोडफोड र आगजनीबाट रौतहटका विभिन्न सरकारी कार्यालय तथा स्थानीय तहमा मात्रै ३६ करोड ३ लाख ४५ हजार ९ सय ६५ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
विवरणअनुसार गौर नगरपालिकामा करिब ६४ लाख, जिल्ला प्रशासन कार्यालयमा ९ लाख, जिल्ला अदालतमा ५० हजार, राष्ट्रिय अनुसन्धान कार्यालयमा ७५ हजार, करदाता सेवा कार्यालयमा ९ लाख तथा कारागार कार्यालयमा ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
त्यस्तै चन्द्रपुर नगरपालिकामा ३ करोड, सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरमा ६ करोड, वन डिभिजन कार्यालयमा २ करोड ५० लाख र प्रदेश लेखा इकाइ कार्यालयमा २ करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
मौलापुर नगरपालिकामा दुई स्कार्पियो, एक जेसीबी र एक ट्याक्टर जलेर करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
वृन्दावन नगरपालिका–१ को वडा कार्यालयमा १६ लाख, वडा नम्बर ८ मा ८ लाख १४ हजार ३ सय, कटहरिया नगरपालिकामा १ करोड ७४ लाख २८ हजार ४ सय, फतुवा विजयपुर नगरपालिकामा २ करोड तथा बौधिमाई नगरपालिकामा १ करोड ६८ लाख २२ हजार ६ सय ७५ रुपैयाँ बराबरको क्षति भएको प्रहरी विवरणमा उल्लेख छ।
त्यस्तै माधव नारायण नगरपालिकामा ८ लाख ६१ हजार १ सय ४० र गुजरा नगरपालिका–४ को वडा कार्यालयमा ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको थियो।
व्यक्तिगत सम्पत्तिमा पनि करोडौँको क्षति
आन्दोलनका क्रममा विभिन्न राजनीतिक व्यक्ति, जनप्रतिनिधि तथा सरकारी अधिकारीका निजी सम्पत्तिमा समेत तोडफोड र आगजनी भएको थियो।
प्रहरीका अनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सम्पत्तिमा करिब ४५ लाख, प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिनाको २ करोड ६० लाख, सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीको ६७ लाख तथा चन्द्रपुर नगर प्रमुख सञ्जय काफ्लेको सम्पत्तिमा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको थियो।
मौलापुर नगर प्रमुख रीना साहको सम्पत्तिमा ५ हजार, प्रदेश सांसद युवराज भट्टराईको सम्पत्तिमा ५ हजार, गरुडा नगर प्रमुख कन्थमणि जायसवालको सम्पत्तिमा ३ करोड ८९ लाख ४९ हजार ५ सय तथा फतुवा विजयपुरकी कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको सम्पत्तिमा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
अन्य व्यक्तिको सम्पत्तिसमेत जोड्दा निजी तथा व्यक्तिगत सम्पत्तिमा ८ करोड ४२ लाख रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक विवरण छ।
जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा रौतहटले आन्दोलनका क्रममा भएको ठूलो भौतिक क्षति र कारागारबाट फरार भएका कैदीबन्दीको चुनौती अझै सामना गरिरहेको छ। फरार रहेका ११७ कैदीबन्दीलाई पक्राउ गर्नु प्रहरीका लागि अझै प्रमुख चुनौती बनेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij