Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

जेनजी अभियन्ता रक्षा बमको आरोप: सहिदको नाममा आयोजित कार्यक्रममा ‘नैतिक भ्रष्टाचार’ भएको दाबी

जेनजी अभियन्ता रक्षा बमको आरोप: सहिदको नाममा आयोजित कार्यक्रममा ‘नैतिक भ्रष्टाचार’ भएको दाबी

काठमाडौँ  :  जेनजी अभियन्ता रक्षा बमले भ्रष्टाचारविरुद्ध चर्को आवाज उठाउनेहरूले नै सहिदको नाममा आयोजित कार्यक्रममा मञ्चबाट ‘नैतिक भ्रष्टाचार’ गरेको आरोप लगाएकी छन्।

बमले मंगलबार फेसबुकमा स्ट्याटस लेख्दै सहिद, घाइते तथा आन्दोलनमा सहभागी युवाहरूका मुद्दालाई प्राथमिकता दिनुपर्नेमा कार्यक्रम त्यसतर्फ केन्द्रित हुन नसकेको टिप्पणी गरेकी हुन्।

“चर्को स्वरमा भ्रष्टाचारको विरोध गर्नेहरूले आज सबैको सामु मञ्चबाटै नैतिक भ्रष्टाचार गरे,” बमले लेखेकी छन्।


उनले सहिदहरूको नाममा गरिएको कार्यक्रममा सहिदका तस्बिर मञ्चभन्दा तल राखिएको भन्दै आपत्ति जनाएकी छन्। सहिदलाई न्याय दिने घोषणा गर्नेहरूले नै सहिदको सम्मानमा प्रश्न उठ्ने व्यवहार गरेको उनको आरोप छ।

बमले आन्दोलनका क्रममा बिना कसुर थुनामा परेका जेनजी  युवाहरूको रिहाइ, आन्दोलनले उठाएका मुद्दाको संस्थागत गर्ने विषय तथा पारदर्शिता, जबाफदेहिता र सुशासनका लागि बहस हुनुपर्ने बताएकी छन्।

त्यस्तै उनले गृहमन्त्रीको विरोध गर्नेहरूलाई ‘आई लभ यू’को प्रायोजित नारा लगाउनका लागि थुनिएको आरोप लगाउँदै कार्यक्रममा धार्मिक अखडाका मठाधीशहरूको आवाजलाई प्राथमिकता दिइएको भन्दै आलोचना गरेकी छन्।

आज काठमाडाैँमा आयाेजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले पुराना दलहरूलाई सुध्रन चेतावनी दिएका थिए। मंगलबार जेनजी सहिद  दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुराना दल र नेताहरूले अझै पनि जेनजी आन्दोलनलाई अपमान गरिरहेको भन्दै सुध्रन चेतावनी दिएका हुन्। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट