काठमाडौं : भोटेकोशी/त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार, खोजी तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीबारे सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचना र अफवाहप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल लगायतका सुरक्षाकर्मीहरू प्रभावित क्षेत्रमा निरन्तर रूपमा उद्धार, राहत वितरण तथा पुनःस्थापनामा सक्रिय रहेको उल्लेख गरिएको छ। बाढीबाट प्रभावित जिल्लाहरूमा सुरक्षाकर्मीहरूले जोखिमपूर्ण परिस्थितिमा समेत नागरिकको ज्यान जोगाउने, बेपत्ता व्यक्तिको खोजी गर्ने र घाइतेको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जनाइएको छ।
विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत “राहत सामग्री हिनामिना भएको” वा “वितरण नगरिएको” जस्ता निराधार आरोपहरू फैलाइएकोप्रति आपत्ति जनाउँदै त्यस्ता भ्रामक सूचना सत्य नभएको स्पष्ट पारिएको छ। यस्ता अफवाहले सुरक्षाकर्मीको मनोबल कमजोर बनाउने, आम नागरिकमा अविश्वास सिर्जना गर्ने र विपद् व्यवस्थापनजस्तो संवेदनशील कार्यमा नकारात्मक असर पार्ने प्रहरीको भनाइ छ।
नेपाल प्रहरीले विपद्को समयमा जिम्मेवार बन्न आग्रह गर्दै अपुष्ट सूचना नफैलाउन र आधिकारिक स्रोतबाट मात्र जानकारी लिन सबैमा अपिल गरेको छ।
हाल बाढी प्रभावित क्षेत्रमा हजारौं सुरक्षाकर्मी परिचालन भई उद्धार तथा राहत कार्य जारी रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij