काठमाडौँ : काठमाडौँको ठमेलबाट पक्राउ परेका १० जना बङ्गलादेशी नागरिकबारे अध्यागमन विभागले अनुसन्धान थालेको छ । प्रहरीले सोमबार काठमाडौँ–२६ स्थित ठमेल क्षेत्रका होटलहरुबाट पक्राउ गरेर बङ्गलादेशी नागरिकहरूलाई अध्यागमन विभागमा पठाएको थियो।
शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचना पाएपछि १० जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत कुमार थापा क्षेत्रीले बताए । पक्राउ पर्नेहरूमा ४६ वर्षीया फहिमा अक्तर हसन, ४८ वर्षीय महमुद, ४५ वर्षीय महबुब हसन, ४९ वर्षीय रिपोन महमुद, ३० वर्षीय एमडी करामत अलीखान, ३० वर्षीय साहिदुर रहमान, ५० वर्षीय एमडी खलिलुर रहमान, २८ वर्षीय आरिफुर रहमान, ४२ वर्षीय एमडी मारुफ मिर्धा र ६४ वर्षीय मोहम्मद हनिफ मिया छन् । उनीहरूलाई प्रहरीले ठमेलको होटल ढाका एक्सप्रेस, होटेल डि भेढा र होटेल अलरहमानलगायतबाट पक्राउ गरेको हो ।
आरोपीहरूमाथि अनुसन्धान भइरहेको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले रातोपाटीलाई बताए । पक्राउ परेकाहरू मध्ये एक जना ओभरस्टे रहेको अनुसन्धानबाट थाहा भएको ढकालले बताए । उनले भने, ‘अरू आरोपीहरूको हकमा अनुसन्धान हुँदै छ ।’
प्रहरी स्रोतका अनुसार सो समूहका खातुन ई जान्नत फरार छन् । ठमेलस्थित मुस्लिमा टोलमा बस्ने उनीहरुले झैँ झगडा गर्ने गरेको भिसाको प्रयोजन विपरीत काम गर्ने गरेको अनुसन्धानले देखाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij