Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

आगामी तीन दिन नदीमा जलसतह बढ्ने, बाढीको मध्यम जोखिम–सतर्क रहन महाशाखाको आग्रह

आगामी तीन दिन नदीमा जलसतह बढ्ने, बाढीको मध्यम जोखिम–सतर्क रहन महाशाखाको आग्रह

काठमाडौँ  : बाढी पूर्वानुमान महाशाखाले सोमबार बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिन देशका प्रमुख तथा साना नदीहरूमा जलसतह उल्लेखनीय रूपमा बढ्ने जनाएको छ। 

सोमबार बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तलै रहेको छ।

महाशाखाका अनुसार आगामी तीन दिन कोशी जलाधारका सप्तकोशी (चतरा), तमोर (त्रिवेणी), अरूण (सिम्ले), दुधकोशी (रबुवाबजार), तामाकोशी (बुस्ती) र सुनकोशी (हम्पचुवार) मा जलसतह उल्लेखनीय रूपमा बढ्नेछ। त्यसैगरी नारायणी जलाधारका नारायणी (देवघाट), त्रिशुली (बेत्रावती), बुढीगण्डकी (आरुघाट), मर्स्याङ्दी (विमलनगर), सेती (दमौली) र कालिगण्डकी (कुमालगाउँ) मा पनि आगामी तीनै दिन बहाव उल्लेखनीय बढ्ने पूर्वानुमान गरिएको छ।

कर्णाली जलाधारका कर्णाली (चिसापानी र असाराघाट), भेरी (समजिघाट) र पश्चिम सेती (दिपायल) तथा महाकाली जलाधारको महाकाली (पारिगाउँ) र कन्काई नदी (मैनाचुली) मा तीनै दिन जलसतह उल्लेखनीय बढ्नेछ। कमला (वेलसोत), बागमती (पधेरादोभान), पूर्वी राप्ती (रजैया), पश्चिम राप्ती (कुसुम) र बबई (चेपाङ) नदीमा भने आगामी तीन दिन बहाव सामान्य रूपमा बढ्ने जनाइएको छ।

साना नदीतर्फ सोमबार ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर, दोलखा, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीहरूमा बहाव उल्लेखनीय बढ्नेछ। 

यी नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। भोलि र पर्सि पनि सातै प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij