काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीहरूको साहस, समर्पण र त्यागप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री शाहले नुवाकोटको विदुर–६ खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा देखिएको एक घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै सुरक्षाकर्मीहरूको अदम्य धैर्यको प्रशंसा गर्नुभयो। उहाँका अनुसार बाढीको जोखिमबीच कारागारमा रहेका ९२३ कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्न खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५२ जना सुरक्षाकर्मीहरूले उच्च सतर्कता अपनाएका थिए।
बाढीले कारागारको संरचना क्षतिग्रस्त बनाउँदै भवनहरूमा पानी पसिसकेको अवस्थामा सुरक्षाकर्मीहरूले कैदीबन्दीलाई सुरक्षित भवनमा स्थानान्तरण गर्नुका साथै भाग्न खोजेका ५० जनालाई पुनः नियन्त्रणमा लिन सफल भएका थिए। सो क्रममा केही सुरक्षाकर्मी घाइते भए पनि उनीहरूले आफ्नो जिम्मेवारीबाट पछि नहटेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो।
प्रधानमन्त्री शाहले सुरक्षाकर्मीहरूले स्थानीय बासिन्दाको ज्यान जोगाउनुका साथै कठिन अवस्थामै पनि निरन्तर सेवा दिइरहेको उल्लेख गर्नुभयो। बाढीपछि पनि उनीहरू लेदो र अवरुद्ध पहुँचबीच पानी आपूर्ति, बाटो व्यवस्थापन तथा नियमित ड्युटीमा खटिरहेको बताइएको छ।
प्रधानमन्त्रीका अनुसार यस विपद्मा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा हालसम्म १३ हजार ३ सय ९१ जनाको उद्धार गरिएको छ। स्थलमार्ग, हवाईमार्ग र काँधमा बोकेर समेत घाइतेहरूलाई अस्पताल पुर्याइएको छ। साथै शव व्यवस्थापन, सम्भावित महामारी नियन्त्रण र राहत शिविरमा मनोबल बढाउने कार्य निरन्तर जारी रहेको छ।
बाढीका कारण ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी र १२ जना सशस्त्र प्रहरी अझै सम्पर्कविहीन रहेको जनाउँदै प्रधानमन्त्रीले उक्त अवस्थाबीच पनि सुरक्षाकर्मीहरू निरन्तर उद्धार र खोजी कार्यमा खटिएको उल्लेख गर्नुभयो।
नेपाली सेनाले प्रभावित क्षेत्रमा ‘फरवार्ड हेडक्वार्टर’, ‘एयर बेस’ तथा ‘मेडिकल टिम’ सञ्चालन गरी उद्धार कार्य अगाडि बढाइरहेको छ भने बेलीब्रिज निर्माण र सडक सञ्चालनमा ल्याउने कार्य तीव्र पारिएको छ। नेपाल प्रहरीले खोज तथा उद्धार, शव व्यवस्थापन र शान्ति सुरक्षामा सक्रिय भूमिका निर्वाह गरिरहेको छ। सशस्त्र प्रहरी बलले गोताखोर, डोरी टोली, ड्रोन र केनाइन युनिटमार्फत कठिन भूगोलमा उद्धार कार्यलाई तीव्र बनाएको छ।
प्रधानमन्त्री शाहले संकटको घडीमा सुरक्षाकर्मीहरूको योगदानका कारण लाखौँ नागरिकले सुरक्षित महसुस गरेको उल्लेख गर्दै उनीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साथै, सुरक्षाकर्मीलाई प्रेरणा दिने परिवारजन तथा उद्धार कार्यमा सहयोग पुर्याउने स्वदेश तथा विदेशका विज्ञहरूप्रति पनि उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री शाहले राष्ट्रसेवक सुरक्षाकर्मीहरूप्रति सधैं कृतज्ञ रहने उल्लेख गर्दै उनीहरूको त्याग र निष्ठाको उच्च कदर हुने बताउनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij