काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ।परराष्ट्र मन्त्रालयमा आइतबार भएको द्विपक्षीय भेटवार्ताका क्रममा यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाकोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि गम्भीर छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरियाको ‘डिजास्टर रिलिफ टिम’ पठाउनुभएकामा गणतन्त्र कोरिया सरकारप्रति आभार व्यक्त गरे। उनले बाढीपीडित नागरिकका लागि गणतन्त्र कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीप्रति धन्यवाद व्यक्त गरे।
विपद्पछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै मन्त्री खनालले भविष्यमा यस्ता विपद्बाट कम क्षति हुनेगरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाउने बताए। यस कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वाससमेत उनले व्यक्त गरे।
यस क्रममा गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तरराष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको भन्दै मन्त्री ह्युनले जलवायु परिवर्तनका असर र त्यसबाट सिर्जित विपद्का विषयमा विश्वसमुदायलाई थप संवेदनशील बनाउन नेपाल र गणतन्त्र कोरियाले सहकार्य गर्नुपर्नेमा जोड दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij