वीरगञ्ज : वीरगञ्जमा सञ्चालित क्यासिनोमा प्रहरीले छापा मार्दा प्रहरी निरीक्षकसहित ८ जना पक्राउ परेका छन्। शनिबार राति वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा प्रहरीले छापा मार्ने क्रममा प्रहरी निरीक्षक प्रदीप पौडेलसहित ८ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, चन्दन साहनी र प्रकाश बैठा रहेका छन्। उनीहरू क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका प्रहरी निरीक्षक पौडेल गत फागुनमा निर्वाचनका बेला उत्कृष्ट कार्य गरेको भन्दै मधेश प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका थिए। तर, भदौमा भने उनी क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्। यसैगरी, क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराउने कार्यमा संलग्न रहेको आरोपमा चार जना कर्मचारीसमेत पक्राउ परेका छन्। पक्राउ पर्ने कर्मचारीमा विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह र प्रदेसी साह रहेका छन्।
प्रहरीले वीरगञ्जमा सञ्चालित विभिन्न क्यासिनोमा निगरानी तथा छापा अभियानलाई तीव्र बनाएको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij