Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

गोरखामा थेराङखोलाको बाढीले बगायो ३ घर, १ जलविद्युत् आयोजना र झोलुंगे पुल

गोरखामा थेराङखोलाको बाढीले बगायो ३ घर, १ जलविद्युत् आयोजना र झोलुंगे पुल

गोरखा : गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ र ४ को सिमा भई बग्ने थोराङ खोलामा आज बिहान करिब साढे ३ बजेतिर आएको लेदोसहितको बाढीले चार वटा घर, एउटा जलविद्युत् आयोजना र एउटा झोलुंगे पुलमा क्षति पुर्‍याएको छ।

वडा नम्बर ४ नाम्रुङका अध्यक्ष पेमा ग्यलपो लामाले सेतोपाटीलाई दिएको जानकारीअनुसार बाढीले तीन वटा घर पूरा बगाएको छ भने एउटा घरमा क्षति पुगेको छ।

साथै एउटा जलविद्तयुत आयोजना र झोलुंगे पुलमा पनि क्षति पुगेको छ।

१०० किलोवाट क्षमताको नाम्रुङ-थेराङखोला लघुजलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएको उनले जानकारी दिए। यो आयोजना करिब ७ करोड लगानीमा बनेको थियो।

‘यो आयोजनाबाट ४० घरघुरीले बिजुली प्रयोग गर्दै आएका थिए, बाढीले आयोजनाको ड्याम फुटेको छ भने आयोजनाको अन्य संरचनामा क्षति पुर्‍याएको छ,’ उनले भने। 

उनकाअनुसार अर्को १५ किलोवाट क्षमताको जलविद्युत आयोजना भने निर्माण सम्पन्न भइसकेको थिएन। यो आयोजनामा पनि केही क्षति पुगेको छ।

नाम्रुङका नुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको हो। बाढीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

खोलाको मुहानी भेगतिर केही बेर थुनिएर लेदोसहित आएको बाढीले क्षति पुर्‍याएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।

खोला बूढीगण्डकीसँग मिसिने हुँदा बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij