Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नुवाकोट बाढी: ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धारले देशभर आशा जगायो : प्रधानमन्त्री बालेन्द्र

नुवाकोट बाढी: ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धारले देशभर आशा जगायो : प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ :  प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको विदुर–१० बेत्रावती क्षेत्रमा बाढी प्रभावित नागरिकहरूको उद्धार तथा राहत कार्य निरन्तर जारी रहेको बताउनुभएको छ।सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई सुरक्षित रूपमा उद्धार गरेको घटनालाई उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसले देशभर आशा र भरोसा जगाएको बताउनुभएको छ। उहाँका अनुसार उद्धार कार्य अझै सक्रिय रूपमा सञ्चालन भइरहेको छ।

प्रधानमन्त्री शाहले यसअघि पनि सोही उमेर समूह तथा ज्येष्ठ नागरिकहरूलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको जानकारी दिँदै कठिन परिस्थितिमा पनि सुरक्षाकर्मीहरू निरन्तर खटिरहेको उल्लेख गर्नुभएको छ।

बाढीका कारण धेरै स्थानीय बासिन्दाले आफ्नो घर, खेतबारी, पशुपंक्षी र पारिवारिक सदस्य गुमाउनुपरेको भन्दै उहाँले गहिरो दुःख व्यक्त गर्नुभएको छ। कतिपय नागरिकहरू अहिले अस्थायी शिविर तथा होल्डिङ सेन्टरमा बसिरहेका छन्।

नुवाकोटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान क्षतिग्रस्त भएपछि त्यहाँ रहेका ७ जना ज्येष्ठ नागरिकलाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयरमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अस्थायी आश्रय दिइएको छ। उनीहरूलाई ह्वीलचियर, वाकर लगायतका सहायक सामग्री उपलब्ध गराइएको छ।

सरकारले उनीहरूको स्वास्थ्य अवस्था र मानसिक अवस्थालाई ध्यानमा राख्दै नियमित स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिरहेको जनाएको छ।

प्रधानमन्त्री शाहले अस्थायी बसोबासलाई छोटो अवधिमा सीमित गर्दै सुरक्षित पुनःस्थापनाको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले राज्यले कुनै पनि पीडित नागरिकलाई अलपत्र नछोड्ने स्पष्ट सन्देश दिनुभएको छ।

उहाँले भन्नुभएको छ, “हजुरहरू यो देशका जग र मार्गदर्शक हुनुहुन्छ। हामी तपाईंहरूको साथमा छौं।”

प्रधानमन्त्रीले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ।

साथै, उहाँले पीडित नागरिकहरूको आक्रोशलाई स्वाभाविक भन्दै त्यसलाई सम्मानपूर्वक बुझ्नुपर्नेमा जोड दिनुभएको छ। उहाँका अनुसार पीडामा रहेका नागरिकमाथि अनावश्यक टिप्पणी गर्ने वा थप पीडा दिने कार्य अस्वीकार्य छ र त्यस्ता गतिविधिप्रति सरकार कठोर हुने छ।

उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षाकर्मीहरू जोखिमपूर्ण अवस्थाबीच निरन्तर सक्रिय रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ।

अन्त्यमा उहाँले नागरिकहरूलाई सरकारप्रति भरोसा राख्न आग्रह गर्दै विपद्को यो कठिन घडीमा सबै एकजुट हुन अपिल गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट