धनगढीः सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ। भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ।
दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन्।
सुदूरपश्चिमको मौलिका संस्कृतिको रुपमा रहेको गौरा पर्व भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ(आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने गरिन्छ।
गौरा पर्वमा काम विशेष र रोजगारीका सिलसिलामा भारत लगायतका देशमा गएकाहरु फर्किएपछि गाउँघरहरु भरिभराज भएका छन्। भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौराको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुआत गर्दछन्।
भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ। भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ।
भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ। त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ।
अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन ) मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ। आजको दिनलाई दुर्वाष्टमी पनि भन्ने गरिन्छ। गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ।
देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ। त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij