Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भोटेकोशी बाढीपछि चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए

भोटेकोशी बाढीपछि चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए

सिन्धुपाल्चोक : रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट तातोपानी नाका हुँदै नेपाल फर्किएका छन्।तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर बिहीबार नेपाली अधिकारीको  जिम्मा लगाएको हो। ‘चिनियाँ प्रतिनिधिले विभिन्न जिल्लाका ११४ नागरिकलाई तातोपानी नाकाको लिपिङ क्षेत्रमा हामीलाई जिम्मा लगाउनुभएको छ’, उनले भने, ‘चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित प्रभावितलाई नेपाल पठाएको हो।’

प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेका अनुसार बाढी प्रभावित क्षेत्रमा परेर चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले तातोपानी नाका हुँदै नेपाल पठाएको हो। उनका अनुसार रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली आज तातोपानी नाका हुँदै नेपाल आइपुगेका हुन्। अहिले तातोपानी भन्सार बन्द रहे पनि पर्यटक आउजाउका लागि उक्त नाका खुुला रहेको छ।

नेपाल फर्किनेमा अधिकांश सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका रहेको जनाइएको छ। अस्थायी पास लिएर केरुङ पुगेका नेपालीलाई फर्काइएको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ। रसुवागढी नाकाबाट केरुङसम्म सामान लिन, लोड–अनलोडको काम गर्न तथा होटेल तथा रेस्टुराँमा काम गर्न जाने नेपालीले भिसा लिनुनपर्ने व्यवस्था छ।

रसुवागढी नाका र पासाङल्हामु राजमार्ग बाढीका कारण कटानमा परेपछि अस्थायी पास लिएर केरुङ पुगेका नेपाली अलपत्र परेका थिए। महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार उनीहरूलाई तातोपानी नाकासम्म पुर्याउन चीनले सहजीकरण गरेको छ। अस्थायी अनुमति लिएर काम वा किनमेलका लागि जाने नेपाली तिब्बततर्फ ३० किलोमिटर भित्रसम्म मात्रै जान पाउँछन्। आफूसँग राहदानी र भिसा नभएका बाढीपछि तिब्बतमा अलपत्र परेका नागरिकलाई नेपाल फर्किन चीन सरकारले सहयोग गरेको महावाणिज्यदूत निरौलाले बताए। 

नेपाली महावाणिज्यदूतका अनुसार केरुङमा करिब एक हजार ६०० नेपाली रहेको अनुमान छ। तीमध्ये नेपाल फर्किनका लागि ८०० जनाले नाम टिपाएका छन्। ‘धेरैजसो सामान लिन आएका, किनमेलका लागि आएका र लोड–अनलोडको काममा आएकाहरु छन्’, महावाणिज्यदूत निरौलाले भने,‘उहाँहरुले नेपाल फर्कन पाऊँ भनेर नाम दर्ता गराएका छन्।

रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उक्त क्षेत्रमा रहेका नेपाली नागरिक प्रभावित भएका छन्। केही नागरिक अझै सम्पर्कविहीन छन् भने चीनतर्फ सुरक्षित अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको छ। बाढीपछि सम्पर्कविहीन रहेका सिन्धुपाल्चोकका २३९ जनाको अवस्था अझै अज्ञात छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट