काठमाडाैं : पहिलो जन्म आमाको कोखबाट हुन्छ, जहाँ स्नेह र सुरक्षाको न्यानो काख मिल्छ। तर, प्रहरी वरिष्ठ हवल्दार राजन खत्रीका लागि दोस्रो जन्म कुनै आमाको काखबाट होइन, भोटेकोशीको उथलपुथल र विनाशकारी छालको गर्भबाट भयो। भदौ १० गतेको त्यो कालो दिन, जब उर्लेर आएको भोटेकोशीले मानव बस्ती र आशाका किरणहरूलाई एकैछिनमा तानेर लग्यो, त्यही विनाशकारी नदीको किनारमा दोलखाका राजन खत्रीले मृत्युलाई नजिकैबाट नियाले र चमत्कारिक रूपमा नयाँ जीवन पाए।
रसुवाको स्याफ्रुबेसी प्रहरी चौकीमा आफ्नो कार्यक्षेत्रमा अहोरात्र खटिएका राजनका लागि त्यो दिन अन्य दिनजस्तै सामान्य थियो। देश र जनताको सुरक्षाका लागि पोसाकमा सजिएर ड्युटी गरिरहेका प्रहरी टोलीलाई के थाहा, केही बेरमै काल बनेर भोटेकोशी आउँदै छ भनेर। क्षणभरमै नदीको प्रवाह अप्रत्याशित रूपमा बदलियो। लेदो, ढुङ्गा र भयानक गर्जनसहित उर्लिएको बाढी चौकीमा पस्यो। अकल्पनीय बाढीको विशाल छालले राजनलाई पछाडिबाट जोडले हुत्यायो। आँखैअगाडि भवनहरू भत्किए, सहकर्मीहरू ओझेल परे। विनाशको त्यो ताण्डवमा मृत्युले उनलाई पूर्ण रूपमा घेरिसकेको थियो।
तर, भाग्य र जीवनको ढुकढुकी अझै बाँकी नै रहेछ। बाढीको तीव्र वेगले बगाउँदै गर्दा अनौठो सङ्घर्षका बिच राजनले छेउको भित्तामा पलाएको एउटा सानो झार समाउन भ्याए। जुन झार कतिपयका लागि नितान्त निरर्थक हुन सक्छ, त्यही सानो झार राजनका लागि मृत्युको मुखबाट उम्किने अन्तिम सहारा बन्यो। अथाह शक्ति र आशाका साथ उनले त्यो झार छाडेनन्। भोटेकोशीको भयानक गर्भले उनका अन्य सहकर्मीहरूलाई आफ्नो अतल गहिराइमा लुकाइरहँदा, भाग्यले राजनलाई किनारमा पछार्यो। अरू सबै बाढीसँगै ओझेल परे, तर राजन फर्किए—अकल्पनीय पीडा र आघात बोकेर।
अहिले उनी आफ्नो घर फर्किएका छन्। तर, त्यो घरको वातावरण सामान्य छैन। उनलाई भेट्न आउने आफन्त र छिमेकीहरू उनलाई सकुशल देख्दा हर्ष र शोकको दोसाँधमा भक्कानिन्छन्। एकातिर राजनलाई जीवितै पाउँदाको खुसी छ भने अर्कातिर त्यो कहालीलाग्दो विपत्तिको सम्झनाले सबैको छाती चिरिन्छ। राजन आफैँ पनि त्यो अकल्पनीय क्षणको कथा सयौँ पटक दोहोर्याइरहेका छन्। आँखाअगाडि सहकर्मीहरू बगेको त्यो दृश्य र मृत्युसँगको त्यो सङ्घर्षले उनको मन अझै पनि थर्कमान बनाउँछ। सम्हालिँदै, आँसु पुछ्दै उनी आफू बचेको अनौठो कथा सुनाउँछन्।
हजारौँ मानिसको ज्यान जोखिममा पारेको र सयौँको ज्यान लिइसकेको यो विनाशकारी बाढीबाट उम्किनु सामान्य कुरा होइन। शारीरिक चोट र मानसिक आघातका बिच पनि राजनको साहस मरेको छैन। शरीरमा चोट र मनमा सहकर्मी गुमाएको गहिरो पीडा भए पनि उनको भावनामा अझै कर्तव्यनिष्ठा झल्किन्छ। उनलाई फेरि उठ्नु छ, निको हुनु छ र पुनः देशको सेवामा उही निलो पोसाक लगाएर ड्युटीमा फर्किनु छ।
भोटेकोशीको अतल छालबाट चमत्कारिक रूपमा उम्किएर दोस्रो जीवन पाउनुभएका साहसी प्रहरी वरिष्ठ हवल्दार राजन खत्रीलाई हार्दिक बधाई तथा पूर्ण शीघ्र स्वास्थ्य लाभको शुभकामना! अनि, यो विपत्तिमा अझै हराइरहेका उनका सहकर्मीहरूप्रति शीघ्र खोजी र उद्धारको कामना गर्दै राजनको यो नयाँ जीवन देश र जनताको सेवामा अझै दृढ रहोस्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij