काठमाडौं : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् । यसअघि मंगलबार पनि उनीहरूबीच छलफल भएको थियो । प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच गठबन्धन गर्ने सहमति भएको छ।
सोहीअनुसार कोशीमा एमालेकै सरकार गठन गर्ने सहमति भएको थियो । तर, अहिले एमाले संसदीय दलका नेता कार्कीलाई हटाएर अर्कै व्यक्तिलाई दलको नेता बनाएर मुख्यमन्त्री बनाउन एमालेकै नेताहरू सक्रिय भएर लागेका छन् ।
विशेष गरी नेता शेरधन राई कार्कीलाई हटाएर अर्कै व्यक्तिलाई मुख्यमन्त्री बनाउन लागि परेका थिए । कार्कीले भने आफूले राजीनामा नदिने बताउँदै आएका छन् । आफूले राजीनामा दिए प्रदेश सरकारमा संवैधानिक संकट आइपर्ने उनको दावी छ ।
कार्कीलाई मुख्यमन्त्रीमा निरन्तरता दिने ओली पनि सकारात्मक थिए । उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलसँगको छलफलमा ओलीले कार्कीलाई निरन्तरता दिने सहमति गरेका थिए ।
तर, अहिले राईकै कारण ओली नै उक्त सहमतिबाट पछि हटेर कार्कीलाई हटाउन सक्रिय भएका छन् । कोशीका इन्चार्ज रहेका पार्टी सचिव शेरधन राई कुनै पनि हालतमा कार्कीलाई हटाउन चाहन्छ ।
पद धरापमा परेपछि मुख्यमन्त्री कार्की ओलीको शरणमा पुगेका हुन् । अझै पनि कार्कीप्रति ओली सकारात्मक नदेखिएको एमालेकै शिर्ष नेताह बताउँछन् । मुख्यमन्त्री कार्कीले भने आफूले व्यक्तिगत रूपमा राजीनामा नदिने र त्यसका लागि पार्टीको संस्थागत निर्णय आउनुपर्ने अडान सार्वजनिक गरेका थिए । सोही विवाद समाधानका लागि अध्यक्ष ओलीले प्रदेश नेतृत्वलाई गुण्डु बोलाएर छलफल थालेका हुन् । छलफल जारी रहेकाले यसबारे औपचारिक निर्णय आउन बाँकी रहेको जनाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij