दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनसरी घटनामा भएको बल प्रयोगको नैतिक तथा राजनीतिक जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताएका छन्।
दाङमा आयोजित एक कार्यक्रममा पोखरेलले भदौ २४ गतेको घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि जिम्मेवारी तोकिएको प्रसंग स्मरण गराउँदै अहिलेको सरकारले पनि सुनसरी घटनामा उही मापदण्ड अपनाउनुपर्ने बताएका हुन्।
उनले भने- 'जेनजी आन्दोलनको घटनासँग जोडेर सुरक्षा निकायले बल प्रयोग गरेको जिम्मेवारी तत्कालिक प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ भनियो। यो सरकारले पनि आफ्नो समयमा भएको बल प्रयोगबाट भएका क्षतिका सन्दर्भमा उन्मुक्ति पाउन सक्दैन। या प्रधानमन्त्री र गृहमन्त्रीले विगतमा जे गर्यौँ, नबुझीकन गर्यौँ भनेर माफी माग्नुपर्यो। त्यसो नभए राजीनामा दिएर मुद्दा चलाउनका लागि बाटो खोलिदिनुपर्यो। '
पोखरेलले वर्तमान सरकारले घटनाको जिम्मेवारीबाट उन्मुक्ति पाउन नसक्ने दाबी गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले या त सार्वजनिक रूपमा माफी माग्नुपर्ने, अन्यथा राजीनामा दिएर कानुनी प्रक्रिया अघि बढ्न मार्ग प्रशस्त गर्नुपर्ने बताए।
साथै उनले सरकारको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध आवश्यक परे नेकपा एमाले सडक आन्दोलनमा उत्रिन पनि तयार रहेको चेतावनी दिए। उनले थप भने- 'स्वेच्छाचारी ढङ्गले चलेका गतिविधिलाई रोक्न हाम्रो पार्टीले कार्यकर्ताहरूलाई जुनसुकै बेला सडकमा आउनुपर्ने हुन सक्छ, तयार भएर बस्नुस् भनेको छ।'
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij