Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपाका कार्यकर्ता हिन्दु अभियन्ता हुन पाउँछन् : मनीष झा

रास्वपाका कार्यकर्ता हिन्दु अभियन्ता हुन पाउँछन् : मनीष झा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनीष झाले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू हिन्दु अभियन्ता हुन पाउने बताएका छन्।

आइतवार जनकपुरमा पत्रकारहरूसँग कुराकानीका क्रममा उनले हिन्दु सम्राट सेनामा रास्वपाका कार्यकर्ता पनि भएको स्विकार्दै यस्तो बताएका हुन्। हिन्दु सम्राट सेनाका तर्फबाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एकजना रास्वपाका सदस्य रहेका थिए।

उक्त विषय सार्वजानिक भएपछि रास्वपाको आलोचना भएको थियो। सांसद झाले यस विषयलाई लिएर अतिरञ्जित गर्न आवश्यक नरहेको बताए। पार्टीको सदस्य र धार्मिक आस्थाका आधारमा अभियानमा सहभागी हुनु दुवै व्यक्तिगत स्वतन्त्रताको विषय भएको उनको भनाइ छ। उनले वार्तामा सहभागी भएकै आधारमा विवाद सिर्जना गर्नु अनुचित भएको टिप्पणी गरे।

उनले रास्वपाका पार्टी सदस्य भएको कारणले नै आन्दोलनलाई हिंसात्मक बाटोमा नभई वार्तामार्फत समाधान खोज्न सफल भएको दाबी गरे। हिन्दु सम्राट सेनाका सम्भावित र उचित मागमाथि थप छलफल गरेर सरकार अघि बढ्ने उनको भनाइ छ। उनका अनुसार हिन्दु सम्राट सेनाका प्रतिनिधिसँग सरकारले साढे नौ घण्टा वार्ता गरेको थियो।

आन्दोलनकारीका माग संवैधानिक, व्यावहारिक र सामाजिक दृष्टिले सम्भव हुने गरी परिमार्जन गर्न लामो समय छलफल गरिएको उनको दाबी छ। वार्तामा गृह मन्त्रालय, मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए। आन्दोलनकारीले राखेका मागमध्ये कार्यान्वयनयोग्य र उचित विषयलाई मात्र अघि बढाउन सहमति जुटाउने प्रयास गरिएको सांसद झाले बताए।

झाले भने, ‘१५ जनामध्ये एकजना रास्वपा सदस्य हुनुहुन्थ्यो। उहाँ हिन्दु अभियन्ता पनि हो। त्यो उहाँको व्यक्तिगत स्वतन्त्रता हो। हिन्दु अभियन्ता हाम्रो पार्टीको सदस्य हुन पाउनुहुन्छ। आन्दोलनमा तोडफोड आगजनी र हत्या हिंसामा जानुको सट्टा वार्ता गरौँ भनेर हामीले उहाँलाई वार्ताको टेबलमा ल्यायौँ। के कुनै पार्टीको सदस्य सरकारसँग वार्ता गर्न पाउँदैन? धर्मप्रतिको आस्था हाम्रा पार्टीका सदस्यहरूले पनि राख्न पाउनुहुन्छ।’

सांसद झाका अनुसार पहिलो चरणको वार्तामा सहभागी हुन नसकेका केही पक्षले असन्तुष्टि जनाएपछि दोस्रो चरणमा थप दुई घण्टा छलफल गरिएको थियो। त्यसक्रममा उनीहरूले थप ६ वटा माग प्रस्तुत गरेका थिए भने केही पुराना माग संशोधनको प्रस्ताव राखेका थिए।

सुरक्षा निकायका अधिकारी र गृहमन्त्री सुदन गुरुङले आवश्यक आश्वासन दिएपछि उनीहरू सन्तुष्ट भएको सांसद झाको दाबी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij