Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

शान्ति समाजले सुरु गर्‍यो सद्‌भाव एकता अभियान

शान्ति समाजले सुरु गर्‍यो सद्‌भाव एकता अभियान

काठमाडौँ : मानवअधिकार तथा शान्ति समाजले सद्‌भाव एकता अभियान सुरु गरेको छ । सो  अभियानको पहिलो चरणमा समाजले विभिन्न जिल्लामा एकता र्‍याली आयोजनाको क्रम सुरु गरेको हो । 

‘हाम्रो जीवनधारा अहिंसा, शान्ति, सद्‌भाव, सहिष्णुता र भाइचारा, तोड्न होइन जोडनका लागि योगदान गरौँ, संवाद, सहमति, सहकार्यको मार्ग अवलम्बन गरौँ” भन्ने आह्वानसहित शान्ति समाज सुर्खेत शाखाको आयोजनामा शनिबार बिहान वीरेन्द्रनगरमा एकता र्‍याली सम्पन्न भएको छ । कार्यक्रममा शान्ति समाजका महासचिव प्रकाश शाही लगायत सामाजिक अगुवाहरूले मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी काठमाडौँस्थित माइतीघर मण्डलामा साउन १८ गते सोमबार दिउँसो २ बजे समाजले प्रदर्शन गर्दैछ । सद्‌भाव तथा सहिष्णुता प्रवर्द्धनका लागि क्रियाशील शान्ति समाजले गत निर्वाचन पूर्व पनि दर्जनौँ जिल्लामा सद्‌भाव प्रवर्द्धन केन्द्रित नागरिक संवाद तथा प्रदर्शन गरेको थियो ।

यसैगरी समाजका संस्थापक सभापति कृष्ण पहाडीले समाज रूपान्तरणका लागि चालक शक्ति सदैव अहिंसा हुनुपर्नेमा पुनः जोड दिएका छन् । शनिबार शान्ति समाज काठमाडौँ शाखाको २९ औँ साधारण सभाको उद्घाटन सत्रमा बोल्दै पहाडीले विविधतालाई समस्याका रूपमा होइन, उत्सवका रूपमा ग्रहण गर्न सबैलाई आह्वान गरे ।

काठमाडौँ शाखा सभापति विकास थापाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरे, नेकपा एमालेका पूर्व सांसद डा.बिन्दा पाण्डे, नेकपाका राष्ट्रिय सभा सांसद मदन कुमारी शाह, बागमती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, उपमेयर सान्नानी लामा, शान्ति समाजका सभापति रेणुका पौडेल, पूर्व सभापतिहरू रामकृष्ण बराल, होमकान्त चौलागाई, गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, सल्लाहकार रामप्रसाद जोशी, वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी लगायत अधिकारकर्मीहरूले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ‘विधिको शासन आधारभूत स्वतन्त्रता सहितको सुशासन’ विषयमा शान्ति समाजले तयार गरेको अवधारणा पत्र काठमाडौँ शाखा उपसभापति सार्जन चापागाईँले प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij