Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ब्रड पिक हिमपहिरो : अमेरिकी पर्वतारोही म्यालोरीको शव फेला, निर्मलसहित ७ जना अझै अज्ञात

ब्रड पिक हिमपहिरो : अमेरिकी पर्वतारोही म्यालोरीको शव फेला, निर्मलसहित ७ जना अझै अज्ञात

पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव फेला परेको छ। उक्त हिमपहिरोमा विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन भएको थियो।

शुक्रबार म्यालोरी गाइसको शव फेला परेसँगै बेपत्तामध्ये तीन जनाको पहिचान खुलेको छ। यसअघि सोही दिन ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङको शव पनि पहिचान गरिएको थियो।

पाकिस्तानको अल्पाइन क्लबले प्रारम्भमा ब्रड पिक क्षेत्रमा चारवटा शव फेला परेको जनाएको थियो। पछि भने आफ्नो भनाइ सच्याउँदै दुईवटा शव र मानव शरीरको एउटा अंग मात्र फेला परेको स्पष्ट पारेको थियो।

स्थानीय गिलगिट–बाल्टिस्तान सूचना विभागका अनुसार कानुनी पहिचान प्रक्रिया पूरा गर्न तीनै जनाको शव हेलिकप्टरमार्फत अस्पताल लगिएको छ। ३९ वर्षीय गाइस अमेरिकाको टेक्सास राज्यस्थित सान एन्टोनियोका बासिन्दा थिए।

१० सदस्यीय आरोहण टोलीमध्ये अझै सात जनाको अवस्था अज्ञात रहेको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार ड्रोनमार्फत ब्रड पिक क्षेत्रमा अन्य केही व्यक्ति देखिए पनि उनीहरूको अवस्था पुष्टि हुन सकेको छैन। शनिबार उद्धार अभियान पुनः सुरु भएपछि थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट