चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्ने गुनासो आएपछि उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। प्रशासनले शुक्रबार सूचना जारी गर्दै जिल्लामा विगतमा जस्तै एलपी ग्यासको आपूर्ति नियमित रूपमा भइरहेको जनाएको हो।
प्रशासनका अनुसार ग्यास उद्योगी तथा आधिकारिक विक्रेतासँगको छलफलबाट जिल्लामा ग्यास आपूर्ति नियमित रहेको जानकारी प्राप्त भएको छ। तर उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास संकलन गरेकाले बजारमा अभाव देखिएको हुन सक्ने अधिकांश सरोकारवालाको धारणा रहेको सूचनामा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयले ग्यास आपूर्ति तथा वितरणको नियमित अनुगमन भइरहेको र अनियमितता भेटिए कानुनी कारबाहीसमेत गरिँदै आएको जनाएको छ। साथै नेपाल आयल निगमसँग चितवनका लागि थप कोटा उपलब्ध गराउन अनुरोध गरिएको र मागअनुसार थप ग्यास उपलब्ध गराउने मौखिक आश्वासन प्राप्त भएको पनि प्रशासनले जानकारी दिएको छ।
प्रशासनले आम नागरिकलाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगरी सहयोग गर्न आग्रह गरेको छ। साथै ज्येष्ठ नागरिक, एकल महिला, दीर्घरोगी, होस्टेलमा बस्ने विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा आश्रममा बस्ने व्यक्तिहरूले नियमित विक्रेताबाट ग्यास प्राप्त गर्न नसके जिल्ला प्रशासन कार्यालयको टोल–फ्री नम्बर १६६०५६५२००१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij