Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

दशकौँदेखि CTEVT धानेका करार कर्मचारी आन्दोलनमा, सेवा सुरक्षा माग

दशकौँदेखि CTEVT धानेका करार कर्मचारी आन्दोलनमा, सेवा सुरक्षा माग

चितवन : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गतका शिक्षालयमा लामो समयदेखि कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारी सेवा सुरक्षा र श्रम अधिकारको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

CTEVT ले तयार पारेको नयाँ सेवा करार मस्यौदाप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरूले आफूहरूको भविष्य अन्योलमा पार्ने व्यवस्था स्वीकार्य नभएको बताएका छन्। उनीहरूले सेवा निरन्तरता, सामाजिक सुरक्षा र प्राप्त सुविधाको सुनिश्चितता गर्न माग गरेका छन्। चितवनका नारायणी पोलिटेक्निक इन्स्टिच्युट, भरतपुर पोलिटेक्निक इन्स्टिच्युट, स्कूल अफ हेल्थ साइन्स र दिवाकर पोलिटेक्निक इन्स्टिच्युटका संघर्ष समितिका अनुसार ती शिक्षालयमा ८० देखि ९० प्रतिशतसम्म कर्मचारी करार सेवामा कार्यरत छन्।

कर्मचारीहरूले नयाँ मस्यौदामा दुई–दुई महिनामा करार नवीकरण गर्ने व्यवस्था राखिएकाले सेवा स्थायित्व र सुविधामा असर पर्ने बताएका छन्। प्रशिक्षण भत्ता हटाइएको, महँगी भत्ता नदिइएको तथा सामाजिक सुरक्षा र अन्य सुविधाबाट वञ्चित हुने अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ।

१६ देखि ३० वर्षसम्म सेवा गरेका कर्मचारीसमेत अझै दरबन्दीविहीन अवस्थामा रहेको भन्दै संघर्ष समितिले स्थायित्व, सामाजिक सुरक्षा र कानुनी संरक्षणको माग गरेको छ। कर्मचारीहरूले आन्दोलन तलब वृद्धिका लागि मात्र नभई दशकौँदेखि प्राविधिक शिक्षामा योगदान दिएका कर्मचारीको सम्मान, सेवा सुरक्षा र भविष्य सुनिश्चितताका लागि भएको बताएका छन्। माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ।

758928580_993236593697370_2962384431830039631_n.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij