भरतपुर : देवघाटमा निर्माण सम्पन्न भएको विद्युतीय शवदाह गृह सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गरिने भएको छ। सञ्चालन खर्च बढी हुने भएकाले यस्तो मोडल अपनाउन लागिएको हो।
सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको शवदाह गृह बुधबार भरतपुर महानगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। महानगरपालिकाले पीपीपी मोडलमार्फत सञ्चालन गर्न आवश्यक कार्यविधिसमेत तयार गरिसकेको जनाएको छ।
करिब सात वर्षअघि निर्माण सुरु गरिएको विद्युतीय शवदाह गृहमा दुईवटा शवदाह मेसिन जडान गरिएको छ। सहरी विकास कार्यालयले ११ करोड २१ लाख ८ हजार ६४१ रुपैयाँको लागतमा यसको निर्माण सम्पन्न गरेको हो।
देवघाट धार्मिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण अन्त्येष्टि स्थल भएकाले चितवन, नवलपरासी, तनहुँलगायत देशका विभिन्न जिल्लाबाट दैनिक शव ल्याइने गरिन्छ। दाउराको अभावका कारण अन्त्येष्टि व्यवस्थापनमा चुनौती हुँदै आएको अवस्थामा विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि वातावरणमैत्री, छिटो र सहज सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। यसले विशेषगरी बेवारिसे शवको अन्त्येष्टि व्यवस्थापनमा समेत महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij