काठमाडौँ : मुलुकको पछिल्लो परिस्थितिबारे छलफल गर्न आयोजना गरिएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिलाई लिएर सञ्चारकर्मीहरूले प्रश्न उठाएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पत्रकारहरूले ‘मुख्य व्यवस्थापक (प्रधानमन्त्री) र सुरक्षाको जिम्मेवारी पाएका गृहमन्त्री नै नभएको बैठक कस्तो बैठक हो ?’ हो भन्दै प्रश्न गरेका थिए ।
सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सभापति लामिछानेले यो बैठक सरकारको प्रशासनिक बैठक नभएर राजनीतिक दलका शीर्ष नेताहरूबिचको वैचारिक मन्थन भएको बताए । उनले भने– ‘यो बैठक राजनीतिक दलका शीर्ष नेताहरू बस्ने बैठक हो । विद्यमान घटनाक्रमका विषयमा राजनीतिक दलहरूको धारणा र मार्ग निर्देशन के छ भन्ने कुरामा यो केन्द्रित थियो ।’
प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे उनले थप स्पष्ट पार्दै भने– ‘प्रधानमन्त्रीले आफ्नो काम गरिरहनुभएको छ, गृहमन्त्रीले आफ्नो काम गरिरहनुभएको छ । सरकारले गर्ने कार्यका लागि मन्त्रिपरिषद् बैठकहरू भइरहेकै छन् । यो त दलहरूले एउटा जिम्मेवार ढंगले साझा अवधारणा बनाउने थलो हो ।’
लामिछानेले बैठकमा सरकारका तर्फबाट जानकारीहरू आइरहेको र आवश्यक पर्दा सरकारले आफ्नो प्रवक्तामार्फत थप स्पष्ट पार्ने बताए । ‘हामी एउटा समीक्षा गर्ने र राजनीतिक रूपमा एक ठाउँमा उभिने विन्दुमा पुग्न खोजेका हौँ,’ उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्री नहुँदैमा राजनीतिक दलहरूको गम्भीरता कम हुँदैन ।’
सञ्चारकर्मीहरूले ‘प्रधानमन्त्रीले डाक्नुपर्ने बैठकमा उहाँ नै किन नआउनुभएको,’ भनी सोधेको प्रश्नमा लामिछानेले प्रधानमन्त्रीले आफ्नो तर्फबाट गर्नुपर्ने समन्वय र कामहरू गरिरहेको भन्दै बचाउ गरे । उनले अहिलेको संवेदनशील समयमा को उपस्थित भयो वा भएन भन्नेभन्दा पनि दलहरूबिच कस्तो सहमति बन्यो भन्ने कुरा महत्त्वपूर्ण हुने बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij