काठमाडौं : मुस्ताङस्थित लक्जरी होटल ‘शिन्तामणि मुस्ताङ’ संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो स्थानमा सूचीकृत भएको छ ।
सन् २०२६ का लागि रब रिपोर्टस्ले तयार पारेको ‘५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६’ सूचीको पहिलो नम्बरमा शिन्तामणि परेको हो ।
संसारका प्रमुख २४ ट्राभल अगुवाको प्यानलले शिन्तामणिलाई पहिलो नम्बरमा सूचीकृत गरेको हो । तल्लो मुस्ताङमा रहेको शिन्तामणि बिल बेन्स्लेले डिजाइन गरेका हुन् ।
यती समूहको शेर्पा हस्पिटालिटी ग्रुप (एसएचजी) ले अगस्ट २०२३ देखि शिन्तामणि सञ्चालन गर्दै आएको छ । होटलका प्रत्येक कोठाबाट देखिने सुन्दर दृश्यले हरेकको मन र मस्तिष्कमा भिन्नै झञ्कार उत्पन्न गर्ने रब रिपोर्टमा उल्लेख छ ।
‘यो एउटा होटलको पहिचान मात्र होइन’ एसएचजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नाम्ग्याल शेर्पाले भने, ‘वर्षौंदेखि हामीले नेपाललाई संसारकै लक्जरी गन्तव्य बनाउने भिजन अनुसार काम गर्दै आएका थियौं र अहिले यसमा सफल भएका छौं, यो सफलताले नेपाल भिन्नै लक्जरी गन्तव्य हो भन्ने पुष्टि गरेको छ ।’
शिन्तामणि सम्भवत: नेपालकै सबैभन्दा महँगोमध्ये पर्छ । यो होटलमा २९ कोठा छन् । यसमा बास बस्न स्वदेशी वा विदेशी जो भए पनि कम्तीमा पाँच दिनसम्मको बुकिङ गर्नुपर्छ ।
शिन्तामणिमा बास बस्ने रातको न्यूनतम १ हजार ८०० अमेरिकी डलर भाडा तिर्नुपर्छ । यो भाडामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र २ प्रतिशत लक्जरी कर जोडिएको छैन । दुई जनाका लागि बनाइएको यो प्याकेजमा कोठा, वेलनेस प्रोग्राम, खाना र पेय उपलब्ध गराइएको रिसोर्टले जनाएको छ ।
रब रिपोर्टको यो सूचीको दोस्रो स्थानमा र्वान्डाको सिंगिटा क्विटोन्डा, तेस्रोमा स्कटल्यान्डको होप लज, चौथो जापानको पार्क ह्यात टोक्यो, पाँचौं भारतको शक्ति प्राण, छैटौं इटालीको कोलेजियो एल्ला क्वेर्स, सातौं बेलायतको क्याल्रिजेज, आठौं फ्रान्सको ले ब्रिस्टल पेरिस, नवौं पनामाको आइसल्यास सेकार र दसौं स्थानमा माल्टाको कासा बोनाभिटा परेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij