Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

माडीको निकुञ्ज सडक निर्माणबारे मन्त्री सोविता गौतमलाई खुला पत्र : ‘EIA कहिले, कालोपत्रे कहिले ?’

माडीको निकुञ्ज सडक निर्माणबारे मन्त्री सोविता गौतमलाई खुला पत्र : ‘EIA कहिले, कालोपत्रे कहिले ?’

चितवन : चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई माडीका युवा रकेश चौधरीले निकुञ्ज सडकको दयनीय अवस्थाबारे ध्यानाकर्षण गराउँदै खुला पत्र लेखेका छन्।

मन्त्री गौतम माडी आउने तयारीमा रहेको सन्दर्भमा चौधरीले माडी पुग्ने मुख्य बाटो चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक अझै पनि जीर्ण अवस्थामा रहेको भन्दै तत्काल समाधानका लागि पहल गर्न आग्रह गरेका हुन्। खुला पत्रमा उनले भदौ २३ र २४ गतेको आन्दोलनपछि नयाँ सरकार गठन भएको र चितवन क्षेत्र नं. ३ बाट भारी मतसहित निर्वाचित मन्त्री गौतमसँग माडीवासीले विकासको अपेक्षा राखेको उल्लेख गरेका छन्।

सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रक्रिया अघि बढाउने प्रतिबद्धता सम्बन्धित निकायबाट आएको स्मरण गराउँदै चौधरीले सिंहदरबारमा भएको छलफल र असार मसान्तसम्म EIA प्रक्रिया सम्पन्न गर्ने भनाइ कार्यान्वयन हुनुपर्ने बताएका छन्। उनले स्थानीय युवासँग भएको सम्झौताअनुसार सडकमा टायल बिछ्याउने विकल्पसमेत अघि बढेको भए पनि अब कालोपत्रे हुने आशामा उक्त काम रोकिएको उल्लेख गरेका छन्।

खुला पत्रमार्फत चौधरीले EIA कहिले सम्पन्न हुन्छ, टेन्डर कहिले आह्वान हुन्छ र सडक कहिलेसम्म कालोपत्रे हुन्छ ? भन्दै सरकारसँग जवाफ माग गरेका छन्। भरतपुर–माडी सडकखण्डको विषय बजेट भाषणमा समेत उठेको भन्दै उनले माडीवासीको आशालाई निराशामा परिणत हुन नदिन पहल गर्न मन्त्री गौतमको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij