Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनका होस्टललाई १५ दिनभित्र मापदण्डअनुसार सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवनका होस्टललाई १५ दिनभित्र मापदण्डअनुसार सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभर सञ्चालनमा रहेका छात्रावास (होस्टल)लाई मापदण्डअनुसार सञ्चालन गर्न कडाइ गर्ने भएको छ। प्रशासनले शनिबार जिल्लाका होस्टल सञ्चालकसँग छलफल गर्दै १५ दिनभित्र कानुनी प्रक्रिया र मापदण्ड पूरा गर्न निर्देशन दिएको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दर्ता नगरी सञ्चालन भएका होस्टललाई तत्काल कानुनी दायरामा ल्याउन आग्रह गर्दै मापदण्डविपरीत सञ्चालन हुने होस्टल बन्द गरिने चेतावनी दिए। ‘होस्टल होटल होइन, जहाँ जुनसुकै बेला जोसुकै प्रवेश गर्न पाइँदैन। दर्ता नगरी होस्टल सञ्चालन गर्न पनि पाइँदैन,’ उनले भने, ‘मापदण्ड पालना नगर्ने होस्टल बन्द गरिनेछ।’

३३ जना होस्टल सञ्चालक सहभागी छलफलमा प्रजिअ अर्यालले होस्टलभित्र तथा वरपर हुने अनधिकृत गतिविधिप्रति सञ्चालक नै जिम्मेवार हुने स्पष्ट पारे। उनले होस्टल परिसरमा मदिराजन्य पदार्थ फेला पर्नु, छात्री होस्टलमा अनधिकृत रूपमा पुरुष प्रवेश गर्नुलगायतका गतिविधि रोक्न सञ्चालकको सक्रिय भूमिका आवश्यक रहेको बताए।

छात्रावासलाई व्यवस्थित र सुरक्षित बनाउन आयोजित छलफलमा शिक्षा विकास तथा समन्वय इकाइ चितवन, भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा, प्याब्सन, हिसान तथा विभिन्न होस्टल सञ्चालकहरूको सहभागिता रहेको थियो। प्रशासनले तोकिएको १५ दिनभित्र सबै होस्टललाई मापदण्डअनुसार सञ्चालनमा ल्याउन आग्रह गर्दै त्यसपछि अनुगमनलाई तीव्र बनाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij