Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

हरिशयनी एकादशीमा गणेशधाम भक्तिमय, MRR टोलीको भजन–कीर्तनले गुञ्जियो धाम

हरिशयनी एकादशीमा गणेशधाम भक्तिमय, MRR टोलीको भजन–कीर्तनले गुञ्जियो धाम

भरतपुर :  पावन हरिशयनी एकादशीको अवसरमा भरतपुर–११ स्थित ऐतिहासिक तथा धार्मिक स्थल गणेशधाममा विशेष भजन–कीर्तन कार्यक्रम सम्पन्न भएको छ। धार्मिक आस्था र भक्तिभावले भरिएको कार्यक्रममा MRR टोलीले प्रस्तुत गरेको भजन–कीर्तनले गणेशधामको वातावरणलाई थप आध्यात्मिक र भक्तिमय बनाएको थियो।
कार्यक्रममा सहभागी MRR टोलीका सम्पूर्ण सदस्यहरूले आफ्नो स्वर, समय र साधनालाई भगवान श्री गणेशको चरणमा समर्पण गर्दै श्रद्धापूर्वक भजन–कीर्तन प्रस्तुत गरेका थिए। टोलीको प्रस्तुति सुन्न उपस्थित भक्तजनहरू भावविभोर बनेका थिए।
गणेशधाम संरक्षण संवर्धन समितिका महासचिव नवराज ढकालले एक धन्यवाद ज्ञापनमार्फत MRR टोलीप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। उहाँले धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा, आपसी सद्भाव, प्रेम र आध्यात्मिक चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
“MRR टोलीको भक्तिमय प्रस्तुतिले सम्पूर्ण गणेशधामलाई आध्यात्मिक वातावरणमा परिणत गरेको छ। यस्ता कार्यक्रमले हाम्रो धर्म, संस्कृति र परम्पराको संरक्षणमा ठूलो योगदान पुर्‍याउँछन्,” महासचिव ढकालले उल्लेख गर्नुभएको छ।
गणेशधाम संरक्षण संवर्धन समितिले आगामी दिनमा पनि MRR टोलीसँगको सहकार्य र आत्मीय सम्बन्धलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूको माध्यमबाट गणेशधामलाई अझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्दै लैजाने समितिको लक्ष्य रहेको जनाइएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्वयंसेवक, सञ्चारकर्मी, सहयोगी महानुभाव तथा उपस्थित सम्पूर्ण श्रद्धालु भक्तजनप्रति समितिले धन्यवाद व्यक्त गरेको छ।
भगवान श्री गणेशको कृपाले सबैमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सफलताको कामना गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij