Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरिपछि....

परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरिपछि....

काठमाडौँ :  त्रिभुवन विश्वविद्यालय एमबीएस प्रथम वर्षको प्रथम सेमेष्टरको परीक्षाको प्रश्नपत्र केहि समयमै बाहिरिएको घटना सार्वजनिक भएको छ। एमबीएस प्रथम वर्षको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटभित्रै बाहिरिएको हो ।

मास्टर अफ विज्नेस स्टडिज विषयको परीक्षा गत बिहीबार १२ बजेदेखि ४ बजेसम्म देशभरका क्याम्पसहरूमा सञ्चालन भएको थियो । रातोपाटीलाई प्राप्त प्रमाण अनुसार प्रश्नपत्र १२ बजेर ६ मिनेटमा बाहिरिएको देखिन्छ । 


प्रश्नपत्रहरू प्राय केहीदिन अगाडी सम्बन्धित परीक्षा केन्द्रमा पठाउने प्रावधान छ । जसमा परीक्षा सुरु हुनुभन्दा केहि समय अघि केन्द्राध्यक्षको रोहवरमा प्रश्नपत्रको शिलबन्दी खोलिन्छ । त्यही क्रममा प्रश्नपत्र विद्यार्थीहरूलाई वितरण गरिन्छ । तर, वितरण भएको प्रश्नपत्र परीक्षा सुरु भएको दुई मिनेटमै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिएको छ । 

विभिन्न ह्वाट्सएपग्रुपबाट प्रश्नपत्र लिक भएको प्रमाण सार्वजनिक भएको  छ । एमबीएस प्रथम सेमेष्टरको प्रश्नपत्र केहि कलेजबाट लिक भएको विद्यार्थीको गुनासो छ । 

यसैबिच त्रिवि स्वतन्त्र विद्यार्थी युनियनले व्यवस्थापन शंकायको ध्यानाकर्षण गराएको छ । त्रिवि स्ववियु सभापति दिपक राज जोशीले एमबीएस प्रथम सेमेस्टरको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको विषय अत्यन्तै गम्भीर र संवेदनशील भएको बताए । 


त्रिवि स्ववियु सभापति जोशीले परीक्षा सञ्चालन भइरहेकै बेला प्रश्नपत्र बाहिरिएको घटनाले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गर्ने बताए । 

उनले भने, ‘विद्यार्थीको मेहनत, विश्वास र विश्वविद्यालयको प्रतिष्ठामाथि आँच आउने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन। परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन सक्दैन। दुई दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, प्रश्नपत्र कसरी बाहिरियो, कसको संलग्नता थियो भन्ने विषयमा स्पष्ट जवाफ दिन तथा दोषी जोसुकै भए पनि कानुनबमोजिम कडा कारबाही गर्न नसके व्यवस्थापन सङ्काय डिनले र परीक्षा हेर्ने सहायक डिनले नैतिक जिम्मेवारी महसुस गरी राजीनामा दिनुपर्छ ।’

त्रिवि केन्द्रीय क्याम्पस स्ववियु उपसभापति प्रश्नपत्र लिक भएर भारतमा आन्दोलन चर्केको थियो । नेपालमा पनि प्रश्नपत्र लिक हुनुले मिहिनेत गर्ने परिश्रमी विद्यार्थीमाथि अन्याय भएको अनुभूति गरेका छौँ । यस घटनाले व्यवस्थापन सङ्काय डिन कार्यालयको गम्भीर त्रुटि रहेको पनि देखाउँछ ।” 

स्ववियुले त्रिवि केन्द्रीय कार्यालयले यथाशीघ्र घटनाको छानबिन गर्न माग गरेको छ ।त्रिवि व्यवस्थापन सङ्कायका डिन महानन्द चालिसेले यस घटनामाथि छानबिन गरिने बताए । चालिसेले भने, ‘यो घटना परीक्षा भइसकेपछि देखिन्छ । प्रश्नपत्र लिक भएको होइन । हलमा प्रश्नपत्र वितरण हुन्छ । मोबाइल कुनै विद्यार्थीले लग्यो । ह्वाट्सएपमार्फत् प्रश्नपत्र बाहिर पठाएको देखिन्छ । र, परीक्षा सुरु भइसकेपछि दुई बजेतिर ह्वाट्सएप ग्रुपमा पठाएको देखिन्छ । प्रश्नपत्र लिक भएको होइन । यसका लागि छानबिन समिति गठन गर्न योजनामा छौँ । कुन परीक्षा केन्द्रमा घटेको हो अझै पत्ता लागेको छैन ।’ 

उनले परीक्षा समितिको बैठक छिट्टै बोलाउने जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट