चितवन : चितवनको भरतपुर महानगरपालिका–१३ स्थित बटुली पोखरी एसियन ओपनबिल (घुंगीफोर गरुड) प्रजातिको महत्वपूर्ण प्रजननस्थलका रूपमा पुष्टि भएको छ। बटुली पोखरीमा गरिएको चराका गुँड अनुगमन तथा गणनाका क्रममा घुंगीफोर गरुडका ४३२ वटा सक्रिय गुँड अभिलेख गरिएको हो।
बर्ड एजुकेसन सोसाइटी र नेचर गाइड एसोसिएसन चितवनको संयुक्त आयोजनामा गरिएको अनुगमनमा ३८ जना पक्षीविद्, प्रकृति पथप्रदर्शक तथा वन्यजन्तु प्राविधिकको सहभागिता रहेको थियो। अनुगमनका क्रममा करिब २० हेक्टर क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्रभित्र रहेका ९७ वटा रुखमा रहेका चराका गुँडको गणना गरिएको थियो। तालभित्र रहेका सुकेका साल (Shorea robusta) का रुखहरू घुंगीफोर गरुडका लागि मुख्य गुँड बनाउने स्थलका रूपमा प्रयोग भइरहेको पाइएको छ।
गणनाका क्रममा घुंगीफोर गरुडका ४३२ वटा सक्रिय गुँडमध्ये एउटै सुकेको सालको रुखमा १६ वटासम्म गुँड भेटिएका थिए। यो तथ्यले बटुली पोखरीमा उक्त प्रजातिको उच्च प्रजनन घनत्व रहेको देखाएको अनुगमन टोलीले जनाएको छ। बटुली पोखरी बरन्डाभार जैविक मार्ग, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा अन्तर्राष्ट्रिय महत्वको बीसहजारी ताल प्रणाली (रामसार क्षेत्र) अन्तर्गत पर्दछ। यस क्षेत्रले सिमसारमा आश्रित विभिन्न चराचुरुङ्गीका लागि महत्वपूर्ण बासस्थानको भूमिका निर्वाह गर्दै आएको छ।
यसै क्रममा बरन्डाभार वन क्षेत्रभित्र रहेको कुमाल तालमा समेत घुंगीफोर गरुडका थप १५ वटा सक्रिय गुँडको अनुगमन गरिएको छ। साथै अन्य तीन प्रजातिका सिमसार आश्रित चराका करिब १० वटा गुँडसमेत भेटिएका छन्। अनुगमनका क्रममा अधिकांश गुँडमा अण्डा कोरलिरहेको तथा चल्ला हुर्किरहेको अवस्था देखिएको थियो। यसले बटुली पोखरी र आसपासका सिमसार क्षेत्र चराहरूको प्रजननका लागि अनुकूल रहेको पुष्टि गरेको छ।
चराको प्रजननस्थल संरक्षणका लागि मानवीय गतिविधि नियन्त्रण, बासस्थान विनाश रोकथाम तथा तालभित्र रहेका सुकेका सालका रुखहरूको संरक्षण आवश्यक रहेको विज्ञहरूले औँल्याएका छन्। नियमित अनुगमन र संरक्षणका कार्यक्रमलाई निरन्तरता दिन सके घुंगीफोर गरुडलगायत सिमसारमा निर्भर चराको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ।