Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नेपाली अदुवाको अन्तर्राष्ट्रिय बजार विस्तार, सात देशमा पुग्यो निर्यात

नेपाली अदुवाको अन्तर्राष्ट्रिय बजार विस्तार, सात देशमा पुग्यो निर्यात

काठमाडौं : लामो समयसम्म भारतीय बजारमा निर्भर रहेको नेपाली अदुवाले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच विस्तार गर्न थालेको छ। गत आर्थिक वर्ष २०८२/०८३ मा नेपालबाट डेढ अर्ब रुपैयाँभन्दा बढीको अदुवा निर्यात भएको छ भने नेपाली अदुवा सात देशको बजारमा पुगेको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष नेपालले १ अर्ब ५० करोड २० लाख ७३ हजार रुपैयाँ बराबरको अदुवा निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा यस्तो निर्यात आम्दानी ५८ करोड ३६ लाख १० हजार रुपैयाँ मात्र थियो। एक वर्षमै अदुवा निर्यातबाट हुने आम्दानी करिब तीन गुणाले वृद्धि भएको हो।

नेपालबाट ताजा अदुवा, सुठो (सुकाइएको अदुवा) र धुलो अदुवा निर्यात हुँदै आएको छ। जसमध्ये ताजा अदुवाको हिस्सा सबैभन्दा ठूलो रहेको छ। गत आर्थिक वर्ष १ करोड ६० लाख १६ हजार ७ सय ४५ किलो ताजा अदुवा निर्यात हुँदा १ अर्ब २ करोड ६९ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ।

त्यस्तै ७ लाख ३५ हजार ६ सय १३ किलो सुठो निर्यातबाट ३७ करोड ५१ लाख ८८ हजार रुपैयाँ तथा ५ लाख १ हजार ६ सय ४२ किलो धुलो अदुवा निर्यातबाट ९ करोड ९९ लाख ८३ हजार रुपैयाँ आम्दानी भएको विभागले जनाएको छ।

सात देशमा पुग्यो नेपाली अदुवा

नेपाली अदुवाको सबैभन्दा ठूलो बजार अझै पनि भारत नै रहेको छ। तर पछिल्लो वर्ष नेपाली अदुवाले भारतबाहेक अन्य अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच विस्तार गरेको छ।

गत आर्थिक वर्ष नेपाली अदुवा भारत, बङ्गलादेश, जापान, जर्मनी, नेदरल्यान्ड्स, संयुक्त अरब इमिरेट्स (यूएई) र अष्ट्रेलिया गरी सात देशमा निर्यात भएको छ।

ताजा अदुवा भारत, बङ्गलादेश र जापान पुगेको छ भने सुठोको प्रमुख बजार जर्मनी बनेको छ। जर्मनीमा मात्रै ३० करोड रुपैयाँभन्दा बढीको सुठो निर्यात भएको तथ्याङ्कले देखाएको छ। प्रशोधित अदुवाको माग बढ्नुले नेपाली कृषि उत्पादनको अन्तर्राष्ट्रिय सम्भावना बढ्दै गएको व्यवसायीहरू बताउँछन्।

२४ हजार हेक्टरभन्दा बढी क्षेत्रमा अदुवा खेती

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा करिब २४ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा अदुवा खेती भइरहेको छ। मध्यपहाडी र पूर्वी पहाडी जिल्लामा यसको व्यावसायिक उत्पादन केन्द्रित छ।

इलाम, सल्यान, कास्की, नवलपरासी, मोरङ, पाल्पा र पाँचथरलगायत जिल्लामा ठूलो मात्रामा अदुवा उत्पादन हुँदै आएको छ। मन्त्रालयका अनुसार नेपालमा वार्षिक करिब ३ लाख २० हजारदेखि ३ लाख ४० हजार मेट्रिक टनसम्म अदुवा उत्पादन हुने गरेको छ।

नेपालको प्रमुख नगदे बालीमध्ये एक रहेको अदुवाको उत्पादन, प्रशोधन र निर्यात बढ्दै जाँदा किसानको आकर्षण पनि बढेको छ। गुणस्तरीय उत्पादन, प्रशोधन उद्योग, भण्डारण र निर्यात पूर्वाधारमा थप सुधार गर्न सके अदुवा नेपालको महत्वपूर्ण विदेशी मुद्रा आर्जन गर्ने कृषि उत्पादन बन्न सक्ने व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट