Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नारायणी लिफ्ट सिँचाइको १३ किमि नहर अतिक्रमणमा, 'सी' नहर नक्सामै सीमित

नारायणी लिफ्ट सिँचाइको १३ किमि नहर अतिक्रमणमा, 'सी' नहर नक्सामै सीमित

चितवन : भरतपुर महानगरपालिकाभित्र पर्ने नारायणी लिफ्ट सिँचाइ आयोजनाको करिब १३ किलोमिटर लामो नहर अतिक्रमणमा परेको छ। वर्षौँदेखि विभिन्न व्यक्ति, सङ्घसंस्था, समूह तथा सरकारी निकायले नहरको जग्गा ओगटेपछि आयोजनाअन्तर्गतको ‘सी’ नहर अहिले नक्सामै सीमित हुने अवस्थामा पुगेको छ।

वि.सं. २०४० देखि सञ्चालनमा रहेको नारायणी लिफ्ट सिँचाइ आयोजनाले नारायणी नदीबाट ‘ए’ नहरमार्फत पानी तानेर ‘बी’ र ‘सी’ नहर हुँदै किसानका खेतबारीमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ। बी र सी नहरका शाखामार्फत आसपासका खेतीयोग्य जमिनमा सिँचाइ हुने गरेको छ।

तर भरतपुर महानगरपालिका–११ को बर्सेनि क्षेत्रदेखि रामबागसम्म फैलिएको करिब १३ किलोमिटर लामो ‘सीएल–१’ नहरको अधिकांश भाग अतिक्रमणमा परेको छ। खेतीयोग्य जमिन विस्तारै घडेरीमा रूपान्तरण हुँदै गएपछि नहर संरक्षणप्रति स्थानीयको चासो पनि घट्दै गएको सरोकारवालाहरू बताउँछन्।

नारायणी लिफ्ट जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटका अनुसार कृषि जमिन आवासीय प्रयोजनमा प्रयोग हुन थालेपछि नहर संरक्षणको महत्व ओझेलमा परेको छ।

यस्तै, नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख कुलराज चालिसेले अतिक्रमित क्षेत्रमा नहरबाट पुनः पानी सञ्चालन गर्ने सम्भावना नरहेको बताउनुभयो। उहाँका अनुसार सिँचित क्षेत्र खण्डीकरण भइसकेकाले नहरको जग्गालाई स्थानीय सरकारले आवश्यक कानुनी व्यवस्था गरेर वैकल्पिक रूपमा व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ। तर प्रभावकारी संरक्षणको अभावमा नारायणी लिफ्टका अन्य नहरहरू पनि विभिन्न स्थानमा अतिक्रमणको चपेटामा परेका छन्।

आयोजना सुरु हुँदा करिब ४ हजार ७ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको थियो। हाल भने सिँचित क्षेत्र घटेर ३ हजार २ सय हेक्टर मा सीमित भएको कार्यालयको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट