Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पन्छीमा देखिएको बर्डफ्लु नियन्त्रणमा, साउन १ यता नयाँ संक्रमण पुष्टि भएन

पन्छीमा देखिएको बर्डफ्लु नियन्त्रणमा, साउन १ यता नयाँ संक्रमण पुष्टि भएन

काठमाडौं : देशभर पन्छीमा फैलिएको बर्डफ्लु संक्रमण अहिले नियन्त्रणउन्मुख बनेको छ। पशु सेवा विभागका अनुसार साउन १ गतेयता देशका कुनै पनि स्थानमा बर्डफ्लुको नयाँ संक्रमण पुष्टि भएको छैन।

विभागका अनुसार पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा संक्रमण देखिएको थियो। त्यसयता प्रभावित क्षेत्र वरपरबाट नमुना संकलन गरी निरन्तर परीक्षण भइरहेको छ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले हाल बर्डफ्लुको अवस्था नियन्त्रणमा रहेको बताउँदै प्रभावित क्षेत्रको निगरानी र परीक्षणलाई निरन्तरता दिइएको जानकारी दिए।

विभागका तथ्यांकअनुसार चैत ४ गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट पहिलो पटक संक्रमण पुष्टि भएको थियो। त्यसपछि चैत ६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रभावित क्षेत्र घोषणा गरेको थियो।

पहिलो संक्रमण मोरङको उर्लाबारी–८ र सुन्दरहरैँचा–४ मा देखिएको थियो। संक्रमण विशेषगरी कमर्सियल लेयर्समा बढी देखिएको थियो भने प्यारेन्ट, कमर्सियल ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा समेत रोग फैलिएको थियो।

हालसम्म ११ जिल्लामा बर्डफ्लुको संक्रमण पुष्टि भएको विभागले जनाएको छ। काठमाडौं उपत्यकाबाहेकका सात जिल्लामा भने संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको विभागको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट