कुरिनटार : इच्छाकामना गाउँपालिका–४ ले दुर्गम बस्तीका ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई घरघरमै पुगेर भत्ता वितरण गरेको छ।
वडाको माथिल्लो टोल बस्ती अन्तर्गत स्याक्लाङ, पातिघारी, बाझगाउँ, कमलाबारी, कुरनभित्ता, बेलडाँडा र सोता गाउँ सम्म पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
भत्ता वितरण कार्यक्रममा वडा कार्यालयका जनप्रतिनिधि, वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, ग्लोबल बैंकका कर्मचारी तथा अन्य सहयोगीको सहभागिता रहेको थियो। दुर्गम बस्तीका ज्येष्ठ नागरिक, अशक्त तथा अन्य लाभग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घरघरमै पुगेर भत्ता वितरण गर्ने अभ्यासलाई निरन्तरता दिइएको वडाले जनाएको छ।
यस कार्यमा सहयोग पुर्याएको ग्लोबल बैंक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति वडा कार्यालयले आभार व्यक्त गरेको छ।
वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले माथिल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सेवा लिन वडा कार्यालय वा बैंकसम्म आउनुपर्ने बाध्यता हटाउन घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताए।
उनले भने, ज्येष्ठ नागरिक, अशक्त तथा अन्य लाभग्राहीलाई सेवा लिन दुःख नहोस् भन्ने उद्देश्यले हामी जनप्रतिनिधि र बैंकका कर्मचारीसँगै गाउँ–गाउँ पुगेर भत्ता वितरण गरिरहेका छौँ। नागरिकको घरदैलोमै पुगेर सेवा दिनु नै स्थानीय सरकारको दायित्व हो। आगामी दिनमा पनि यस्तो सेवामुखी अभियानलाई निरन्तरता दिनेछौँ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij