चितवन : लायन्स क्लब अफ चितवन सौराहा युथ, लायन्स क्लब अफ चितवन सौराहा तथा लियो क्लब अफ चितवन सौराहाको संयुक्त आयोजनामा रत्ननगर–७ स्थित बागमारा सामुदायिक वन क्षेत्रमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
लायन्स क्लब अफ चितवन सौराहा युथका अध्यक्ष लियो लायन आशिष रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उप–जिल्ला गभर्नर (1st Vice District Governor) PMJF लायन दीपेन्द्र खतिवडा (दीपक) प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जिल्ला कार्यकारी प्रमुख MJF लायन योगेन्द्रनाथ अधिकारी, लियो क्लब अफ चितवन सौराहाका अध्यक्ष लियो उज्ज्वल अधिकारीलगायत लायन्स तथा लियो क्लबका पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो।
अध्यक्ष रेग्मीका अनुसार वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा दिगो भविष्य निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। विशेषगरी चराचुरुङ्गीको आहार र बासस्थान संरक्षणलाई ध्यानमा राख्दै फलफूलका बिरुवालाई प्राथमिकता दिई वृक्षारोपण गरिएको उनले बताए। सहभागीहरूले वृक्षारोपण अभियानलाई वातावरण संरक्षणसँग जोडिएको सामाजिक दायित्वका रूपमा लिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमका लागि स्थान उपलब्ध गराएको बागमारा सामुदायिक वन व्यवस्थापन समितिलाई तथा बिरुवा उपलब्ध गराएको डिभिजन वन कार्यालयलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ। कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ चितवन सौराहा युथका सचिव लियो लायन्स संजय पौडेलले गरेका थिए। आयोजकका अनुसार सामूहिक सहकार्य र सक्रिय सहभागिताले हरियाली अभियानलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij