चितवन : रत्ननगर नगरपालिका–१ स्थित श्री सरस्वती दुर्गा मन्दिरमा १२ फिट अग्लो शिवको मूर्ति स्थापना गरी शनिबार विशेष धार्मिक समारोहका बीच अनावरण गरिएको छ। वैदिक विधिअनुसार पूजा–अर्चना तथा प्राण प्रतिष्ठापछि मूर्तिको अनावरण गरिएको हो। करिब ३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त मूर्ति स्थापना भएपछि मन्दिर परिसर थप आकर्षक, भव्य र आध्यात्मिक वातावरणले भरिएको स्थानीय भक्तजनहरूले बताएका छन्। यसले धार्मिक आस्थाका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
शिवको मूर्ति स्थानीय भवदत्त लामिछाने र दिलमाया लामिछानेले आफ्ना स्वर्गीय पिता वरपति लामिछाने र माता खिमकला लामिछानेको पुण्य स्मृतिमा मन्दिरलाई सौजन्यस्वरूप प्रदान गरेका हुन्। मन्दिर व्यवस्थापन समितिले लामिछाने परिवारको योगदानलाई धर्म, संस्कार र संस्कृतिको संरक्षणमा प्रेरणादायी कार्य भएको जनाएको छ।
मूर्ति अनावरण कार्यक्रम रत्ननगर–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता कुलप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै सापकोटाले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय समुदायको सहभागिता महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता अभियानले धार्मिक पर्यटनको विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वडावासी, टोलवासी तथा जिल्लाका विभिन्न स्थानबाट आएका श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो। भजन–कीर्तनसहित सम्पन्न कार्यक्रममा भक्तजनहरू उत्साहपूर्वक सहभागी भएका थिए।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण गिरीले मूर्तिदाता लामिछाने परिवारलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सरस्वती दुर्गा मन्दिरलाई अझ व्यवस्थित र धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij