काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले मुलुकमा कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड लागु गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राज्यले 'ठुलालाई चैन र सानालाई ऐन' को नीति लिएको आरोप लगाए। अध्यक्ष राईले प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा सर्वसाधारण युवालाई तुरुन्त हिरासतमा लिइने तर शक्तिको आडमा बस्ने मन्त्री र सांसदहरूलाई उन्मुक्ति दिइने परिपाटीप्रति प्रश्न उठाए।
"प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युवालाई हिरासतमा राखियो, तर निर्माण व्यवसायीको खुट्टा भाँचिदिन्छु भन्ने मन्त्री र प्रहरीलाई सडकमा घिसार्छु भन्ने सांसदलाई किन कारबाही हुँदैन? ठुलालाई चैन, सानालाई ऐन कहिलेसम्म ?," राईले भने।
राईले लोकतन्त्रमा नियम र कानुन सबैका लागि समान हुनुपर्नेमा जोड दिए। उनले शक्तिमा हुनेहरूले नियम मिच्दै जाने र सर्वसाधारणमाथि मात्रै डन्डा चलाउने हो भने मुलुकमा अराजकता मौलाउने चेतावनी दिए। उनले नागरिकलाई गल्ती गर्दा सच्याउने मौका दिनुपर्ने तर राज्य आफैँ प्रतिशोधमा उत्रिन नहुने धारणा राखे।
उनले भने, "जब लोकतन्त्रमा नियम मानिँदैन वा एकथरीलाई मात्र नियम लाग्छ, त्यहाँबाट अराजकता सुरु हुन्छ । अहिले संसद् र सरकार बिस्तारै त्यही दिशातर्फ उन्मुख भएको देखिन्छ।"
उनले अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग र सामाजिक सञ्जालमा बढ्दै गएको गालीगलौजप्रति पनि चिन्ता व्यक्त गरे। आफूलाई समेत ज्यान मार्ने र घर जलाइदिने धम्की आएपछि साइबर ब्युरोमा उजुरी दिए पनि अहिलेसम्म कुनै कारबाही नभएको गुनासो उनले गरे। मन्त्री र प्रधानमन्त्रीको सवालमा तत्काल सक्रिय हुने राज्य संयन्त्र, सांसद र सर्वसाधारण नागरिक असुरक्षित हुँदा मौन बस्नुले राज्यको विभेदकारी नीति प्रस्ट पारेको भन्दै उनले आपत्ति जनाए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij