Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अटिजम भएका विद्यार्थीलाई रत्ननगर उद्योग वाणिज्य सङ्घको सहयोग, खेलकुद सामग्री हस्तान्तरण

अटिजम भएका विद्यार्थीलाई रत्ननगर उद्योग वाणिज्य सङ्घको सहयोग, खेलकुद सामग्री हस्तान्तरण

रत्ननगर :  रत्ननगर उद्योग वाणिज्य सङ्घले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रत्ननगर नगरपालिका–१३ अमिलियास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको अटिजम स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरूका लागि खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा अटिजम भएका बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सहयोग पुग्ने उद्देश्यले विभिन्न खेलकुद सामग्री प्रदान गरिएको हो।

कार्यक्रममा सङ्घका अध्यक्ष शंकर गिरीले विशेष आवश्यकता भएका बालबालिकाको समग्र विकासमा खेलकुद प्रभावकारी माध्यम भएको उल्लेख गर्दै खेलकुदले उनीहरूको शारीरिक तन्दुरुस्ती, सामाजिक घुलमिल र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। समाजप्रति आफ्नो उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सङ्घले यस्तो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रमका क्रममा खेलकुद सामग्री खरिदका लागि सङ्घका वरिष्ठ उपाध्यक्ष निराजन खनाल र उपाध्यक्ष रामशरण नेपालले व्यक्तिगत रूपमा जनही १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो।

सहयोग सामग्री ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरि पुरीले रत्ननगर उद्योग वाणिज्य सङ्घप्रति आभार व्यक्त गर्नुभयो। उहाँले प्राप्त सहयोगले अटिजम भएका विद्यार्थीहरूको सिकाइ, खेलकुद गतिविधि र दैनिक अभ्यासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यले निरन्तरता पाउने अपेक्षा राख्नुभयो।

कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य तथा पूर्वअध्यक्ष नारायणकाजी श्रेष्ठको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव उपेन्द्र शर्मा आचार्यले गर्नुभएको थियो भने समापनमा वरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट