चितवन : बजारको बढ्दो माग धान्न नसकेपछि चितवनको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले करिब ७ करोड रुपैयाँको लगानीमा नयाँ दुग्धजन्य उत्पादन प्लान्ट थप गर्ने भएको छ। संस्थाका अध्यक्ष प्रदीप तिमिल्सिनाका अनुसार दूध, दही, मही र घ्यूको माग अत्यधिक बढेपछि हालको उत्पादन क्षमता अपुग भएको हो।
संस्थाले आफ्नै १३ कठ्ठा जग्गामा नयाँ प्लान्ट स्थापना गर्ने तयारी गरेको छ। भदौ महिनादेखि प्लान्ट निर्माण तथा उपकरण जडानको काम सुरु हुने र हाल आवश्यक कागजी प्रक्रिया पूरा भइरहेको उनले बताए। भरतपुर महानगरपालिका–६ केशरबागस्थित सहकारीले हाल दैनिक ४ हजार लिटर दूध, ४ हजार लिटर दही, २ हजार लिटर मही, साथै घ्यू, नौनी, बटर, फ्रेस क्रिम तथा पनिर उत्पादन गर्दै आएको छ।
नयाँ प्लान्ट सञ्चालनमा आएपछि प्रतिघण्टा २ हजार लिटर दूध प्रशोधन गर्ने क्षमता पुग्ने संस्थाले जनाएको छ। हाल संस्थाले ५५० किसानबाट दैनिक ८ हजार लिटरभन्दा बढी दूध संकलन गर्दै आएको छ। माग धान्न कहिलेकाहीँ अन्य डेरीबाट समेत दूध खरिद गर्नुपर्ने अवस्था रहेको छ। सहकारीले किसानलाई डीडीसीभन्दा बढी मूल्यमा दूध खरिद गर्दै आएको छ। भुक्तानी प्रत्येक १५ दिनमा सिधै बैंक खातामा गरिने व्यवस्था छ।
मोबाइल एपमार्फत दूधको फ्याट, बिक्री विवरण, भुक्तानी तथा बीमा सम्बन्धी जानकारी हेर्न सकिने सुविधा पनि उपलब्ध छ। महीको माग पनि पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ। विभिन्न सभा, सम्मेलन तथा सरकारी कार्यक्रममा समेत महीको प्रयोग बढ्दै गएको सहकारीले जनाएको छ। संस्थाका अनुसार स्वदेशी मही चिसो पेय पदार्थको विकल्पका रूपमा स्थापित हुँदै गएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij