बुटवल : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियानअन्तर्गत रुपन्देहीको पहिलो जिल्ला भेला सम्पन्न गरेको छ।
शनिबार बुटवलमा सम्पन्न भेलाले ४५ सदस्यीय जिल्ला समिति गठन गर्दै संगठन विस्तारलाई तीव्र बनाउने निर्णय गरेको छ।
पार्टीका तत्कालीन स्थायी समिति सदस्य उमा भुजेल, चन्द्रबहादुर खड्कालगायत नेतामाथि नेतृत्वले कारबाही गर्दै निष्कासन गरेपछि विकसित राजनीतिक घटनाक्रमसँगै देशका विभिन्न जिल्लाका नेता–कार्यकर्ता पुनर्गठित नेकपामा आबद्ध हुँदै आएको दाबी गरिएको छ।
भेलाले केन्द्रीय सदस्य शरद वलीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ भने विष्णु तिवारी ‘मुकेश’को संयोजकत्वमा ४५ सदस्यीय जिल्ला समिति गठन गरेको छ। यसअघिका जिल्ला सदस्यहरूलाई सचिवालयमा समेट्नुका साथै आवश्यक सदस्य थप गरिएको जनाइएको छ।
भेलाबाट देवदह, ओमसतिया र रोहिणी क्षेत्रको इन्चार्जमा मदन थारु ‘जसवन्त’, सिद्धार्थनगर नगरपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको इन्चार्जमा शंकर ज्ञवाली, मायादेवी र गैडहवा गाउँपालिकाको इन्चार्जमा अविराम यादव तथा सचिवमा रामवचन यादव चयन भएका छन्।
त्यसैगरी बुटवल उपमहानगरपालिकाको इन्चार्जमा महेन्द्र टण्डन र सचिवमा दीपक पौडेल, कञ्चन गाउँपालिकाको इन्चार्जमा सोमनाथ शर्मा, तिलोत्तमा नगरपालिकाको इन्चार्जमा श्रीधर ज्ञवाली, मर्चवारी गाउँपालिकाको इन्चार्जमा नन्दलाल लोध तथा सियारी गाउँपालिकाको सचिवमा अनवर यादव चयन भएका छन्। सैनामैना क्षेत्रको संगठनात्मक जिम्मेवारी जिल्ला कार्यालयले नै हेर्ने निर्णय गरिएको छ। साथै पार्टीका जनवर्गीय संगठनहरूको समेत जिम्मेवारी तोकिएको जनाइएको छ।
पुनर्गठन अभियानअन्तर्गत रुपन्देहीमा पहिलो जिल्ला भेला सम्पन्न गरिएको केन्द्रीय सदस्य शरद वलीले बताए। उनका अनुसार यही अभियान अन्य जिल्लामा पनि निरन्तर सञ्चालन गरिनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij