चितवन : पर्यटन कार्यालय, सौराहाको आयोजनामा तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी होमस्टेमा शुक्रबार ‘मिट द पिपुल’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा चितवन र तनहुँ जिल्लाबीच पर्यटन प्रवर्द्धन, पर्यटकीय पूर्वाधार विकास तथा आपसी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। दुवै जिल्लाका पर्यटनसँग सम्बन्धित सरकारी निकाय, स्थानीय तह, होटल व्यवसायी, होमस्टे सञ्चालक, शैक्षिक संस्था तथा सञ्चारकर्मीको सहभागितामा पर्यटन क्षेत्रलाई थप प्रभावकारी बनाउने विषयमा धारणा आदानप्रदान गरिएको थियो।
कार्यक्रममा तनहुँका पर्यटनविद् हरिसिंह गुरुङले जिल्लाको पर्यटन पूर्वाधार र सम्भावनाबारे प्रस्तुति दिनुभएको थियो भने चितवनका तर्फबाट भरतपुर महानगरपालिकाका प्रतिनिधि डा. विश्वराज सुवेदीले चितवनको पर्यटन पूर्वाधार, विकासका प्रयास र भावी योजनाबारे जानकारी गराउनुभएको थियो।
पर्यटन कार्यालय, सौराहाका प्रमुख प्रेमप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास नगर प्रज्ञा प्रतिष्ठान, तनहुँ होटल व्यवसायी संघ, सम्पदा नेपाल, रुम्सी तथा केशवटार होमस्टे, आदिकवि भानुभक्त क्याम्पस, उद्योग वाणिज्य संघ चितवन, क्षेत्रीय होटल सङ्घ नेपाल चितवन तथा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले चितवन र तनहुँलाई संयुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न साझा योजना, पूर्वाधार विस्तार, प्रचार–प्रसार तथा निजी–सार्वजनिक साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij