Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गरेका छन् । दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी शुक्रबार काठमाडौँ फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिएका हुन् । 

अध्यक्ष राईले सरकारले केही गर्ने कोसिस गरे पनि जनताले महसुस गर्ने गरी परिणाम दिन नसकेको दाबी गरे । उनले महँगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको पनि स्मरण गराए । सरकारले सय दिनमा गरेका कामहरूको जनताले महसुस गरेजस्तो आफ्नो अनुभूति नरहेको अध्यक्ष राईको भनाइ छ । 

उनले भने, ‘कोसिस उहाँहरूले गर्नुभएको हो । तर रिजल्ट चाहिँ जनतालाई त्यति महसुस भएको छैन । रिजल्ट भएको महसुस हुनुपर्दछ । महँगीहरू धेरै भयो । अब महँगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह सुझाव रहेको थियो । म दार्चुला हुँदा देखेको थिएँ त्यता आमसञ्चार छैन । अब हेर्न पनि पाइँदैन । पेट्रोलको भाउ अलि घट्यो रे भन्ने छ ।’

अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घटाएको भन्दै सरकारको उक्त निर्णयको समर्थन गरे । उनले दार्चुला जिल्ला विकट रहेकाले त्यहाँको विकासमा सहभागी हुन पाउँदा आफू खुसी भएको पनि बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij