इच्छाकामना : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल, काठमाडौंले इच्छाकामना गाउँपालिकामा सञ्चालित विभिन्न होटल तथा रेस्टुरेन्टहरूको आकस्मिक खाद्य स्वच्छता तथा गुणस्तर अनुगमन गरेको छ। उक्त अनुगमनमा सिद्धार्थ रिभरसाइड रिसोर्ट र रिभरसाइड स्प्रिंग रिसोर्टले सर्वोत्कृष्ट अंक प्राप्त गर्दै ‘अति उत्तम’ खाद्य स्वच्छता स्तर कायम गर्न सफल भएका छन्।
उच्च अंक प्राप्त गर्ने रिभरसाइड स्प्रिङ रिसोर्ट विगत २५ वर्षभन्दा लामो समयदेखि आतिथ्य सेवा प्रदान गर्दै आएको स्थापित रिसोर्ट हो। त्यस्तै, सिद्धार्थ रिभरसाइड रिसोर्ट नेपालकै अग्रणी आतिथ्य समूह सिद्धार्थ हस्पिटालिटी अन्तर्गत सञ्चालित रिसोर्ट हो।
सिद्धार्थ रिभरसाइड रिसोर्टका प्रबन्धक किरण रिमाल का अनुसार रिसोर्टले लगातार पांच वर्षदेखि खाद्य स्वच्छता मापदण्डमा उच्च अंक प्राप्त गर्दै ‘अति उत्तम’ स्तर कायम राख्न सफल भएको छ। उनका अनुसार रिसोर्टले खाद्य सुरक्षा र स्वच्छतालाई प्राथमिकतामा राख्दै कर्मचारीहरूलाई नियमित रूपमा खाद्य स्वच्छता, खाद्य सुरक्षा तथा सेवा गुणस्तरसम्बन्धी विभिन्न तालिमहरू प्रदान गर्दै आएको छ।
प्रबन्धक रिमालले निकट भविष्यमा सिद्धार्थ रिभरसाइड रिसोर्टलाई सेवा, सुविधा र पूर्वाधार थप स्तरोन्नति गर्दै हाइवे क्षेत्रकै उत्कृष्ट चारतारे (४–Star) रिसोर्ट का रूपमा स्तरोन्नति गर्ने तयारी भइरहेको जानकारी दिए। खाद्य स्वच्छता तथा गुणस्तरमा प्राप्त यस उपलब्धिले इच्छाकामना गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। साथै, यसले होटल तथा रेस्टुरेन्ट व्यवसायलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न थप प्रेरणा दिने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij