Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

असार १७ देखि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द

असार १७ देखि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द

चितवन : चितवन राष्ट्रिय निकुञ्जले वर्षायाम सुरु भएसँगै निकुञ्जभित्र सञ्चालन हुँदै आएको जिप सफारी सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। निकुञ्ज प्रशासनका अनुसार आगामी असार १७ गतेदेखि असोजको पहिलो सातासम्म जिप सफारी सेवा स्थगित रहनेछ।

निकुञ्ज कार्यालय, कसराका अनुसार वर्षायाम वन्यजन्तु तथा चराचुरुङ्गीहरूको प्रजननका लागि संवेदनशील समय भएकाले संरक्षणलाई प्राथमिकता दिँदै जिप सफारी सञ्चालन रोक्ने निर्णय गरिएको हो।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले वर्षाका कारण वनभित्रका कच्ची सडक क्षतिग्रस्त हुने, साना खोला तथा खोल्सामा आकस्मिक बाढी आउने, रुख ढलेर आवागमन अवरुद्ध हुनेजस्ता जोखिम बढ्ने भएकाले पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै सेवा स्थगित गरिएको जानकारी दिए।

उनका अनुसार निकुञ्जभित्रको जिप सफारी बन्द भए पनि निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा सञ्चालन हुने जिप सफारी सेवामा भने कुनै असर पर्ने छैन। ती क्षेत्रमा पर्यटकले पूर्ववत् रूपमा सफारीको सुविधा लिन सक्नेछन्।

चितवन राष्ट्रिय निकुञ्जका लागि जिप सफारी प्रमुख राजस्व स्रोतहरूमध्ये एक हो। निकुञ्जभित्रको सेवा बन्द रहने अवधिमा अधिकांश पर्यटक मध्यवर्ती क्षेत्रका पर्यटकीय गन्तव्यतर्फ आकर्षित हुने गरेका छन्।

निकुञ्ज प्रशासनले हरेक वर्ष मध्य असारदेखि असोजको पहिलो सातासम्म वर्षायाम, वन्यजन्तु संरक्षण तथा पर्यटक सुरक्षालाई मध्यनजर गर्दै निकुञ्जभित्रको जिप सफारी सेवा अस्थायी रूपमा बन्द गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट