Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा केराबाट वाइन र ब्रान्डी उत्पादन सफल, कृषक सापकोटाको नवप्रयोग चर्चामा

चितवनमा केराबाट वाइन र ब्रान्डी उत्पादन सफल, कृषक सापकोटाको नवप्रयोग चर्चामा

चितवन : चितवनको रत्ननगर नगरपालिका–१२ जिरौनाका कृषक ठाकुर सापकोटाले केराको विविधिकरण गर्दै मदिराजन्य पेय पदार्थ ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा सफलता हासिल गर्नुभएको छ । १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएका उहाँले पछिल्ला एक वर्षदेखि केराबाट बाइ–प्रोडक्ट उत्पादनसम्बन्धी अध्ययन तथा प्रयोगात्मक अनुसन्धान गर्दै आउनुभएको हो ।

उत्पादनमुखी कृषि प्रणालीलाई उद्योगसँग जोड्ने उद्देश्यले सुरु गरिएको उक्त प्रयास कृषि विकास कार्यालय, भरतपुरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो । अनुसन्धानपछि केराबाट वाइन उत्पादन पूर्ण रूपमा सफल भएको छ भने ब्रान्डी उत्पादन पनि सफल चरणमा पुगेको सापकोटाले जानकारी दिनुभयो ।

एक एण्ड बी केरा फार्ममार्फत करिब १२ बिघा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएका उहाँले हावाहुरी, बजार अभाव र प्राविधिक समस्याका कारण बोटमै कुहिने तथा खेर जाने केराबाट मूल्य अभिवृद्धि गर्ने उद्देश्यले यो प्रविधि विकास गर्नुभएको हो । उहाँका अनुसार ५०० केजी पाकेको केराबाट करिब २०० लिटर वाइन उत्पादन गर्न सकिन्छ भने ३०० केजी केराबाट १२० देखि १३० लिटर ब्रान्डी उत्पादन हुने गर्दछ । यो प्रविधि पूर्ण रूपमा पाकेको केरामा हुने प्राकृतिक चिनीको फर्मेन्टेसन प्रक्रियामा आधारित रहेको उहाँले बताउनुभयो ।

सापकोटाले यसलाई ठूलो डिस्टिलरीभन्दा पनि स्थानीय स्तरमा सञ्चालन हुने ‘माइक्रो–डिस्टिलरी’ का रूपमा अघि बढाउने तयारी गर्नुभएको छ । गण्डकी गाउँपालिका र खोटाङमा कोदोको ब्रान्डिङ भएझैं चितवनको केरालाई पनि ब्रान्डिङ गर्न सकिए कृषि पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने उहाँको भनाइ छ । हाल परीक्षणका रूपमा करिब एक हजार जनालाई केराबाट उत्पादित पेय पदार्थ चखाउँदा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । आगामी आर्थिक वर्षदेखि व्यावसायिक उत्पादन र बजार विस्तार गर्ने तयारी भइरहेको छ ।

यसका साथै, रत्ननगर–टाँडीस्थित बकुलहर चोकमा केराका विविध परिकार उपलब्ध गराउने आउटलेट पनि सञ्चालनमा ल्याइएको छ । त्यहाँ केराको मःमः, चिप्स, पकौडा, छोइला, बनाना चिल्ली र अचारजस्ता परिकार उपलब्ध छन्, जसले स्थानीय तथा पर्यटकलाई आकर्षित गरिरहेको छ । सापकोटाका अनुसार खेर जाने केराबाट सुरु गरिएको यो नवप्रवर्तनले चितवनको कृषि अर्थतन्त्रलाई सुदृढ बनाउने र केरालाई चितवनको पहिचानका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij