चितवन : चितवनको माडी नगरपालिका–६, लक्ष्मीवासमा सञ्चालित माडी भ्यू मध्यवर्ती सामुदायिक होमस्टे स्थानीयको आयआर्जनको भरपर्दो माध्यम बन्नुका साथै गाउँको मौलिक संस्कृति, परम्परा र कलाको संरक्षण तथा प्रवर्द्धनमा समेत उदाहरणीय बनेको छ।
पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना बोकेको भए पनि लामो समयसम्म ओझेलमा परेको लक्ष्मीवास क्षेत्रलाई चिनाउने उद्देश्यका साथ २०७६ सालदेखि सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको हो। केही वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित राना थारु होमस्टेबाट प्रेरित भएका होमस्टेका अध्यक्ष जितबहादुर चापागाईंले गाउँका खाली कोठालाई पर्यटक बस्ने स्थानका रूपमा विकास गर्ने परिकल्पना गरेका थिए। आज त्यही सोच सफल सामुदायिक अभियानका रूपमा स्थापित भएको छ।
बागमती प्रदेश सामुदायिक होमस्टे महासंघका उपाध्यक्षसमेत रहेका चापागाईंका अनुसार होमस्टेमा आन्तरिक पर्यटकको आकर्षण उल्लेख्य रूपमा बढेको छ। साउन महिनायता प्रत्येक घरमा करिब ६ सय पर्यटकले सेवा लिएका छन् भने होमस्टेको सभाहलमा झण्डै ७ सय विभिन्न कार्यक्रम सम्पन्न भएका छन्। बिदाका दिन पाहुनाको चाप अत्यधिक हुने भएकाले अग्रिम बुकिङ नगरी आवास पाउन कठिन हुने अवस्था रहेको उनले बताए।
सुरुमा पाँच घरबाट सञ्चालन गरिएको होमस्टे अहिले नौ घरपरिवारको सहभागितामा विस्तार भएको छ। प्रत्येक घरले मासिक करिब ४० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको जनाइएको छ। एकपटकमा ४० जनासम्मलाई आवास उपलब्ध गराउन सक्ने क्षमता रहेको होमस्टेमा स्थानीय उत्पादन, विषादीरहित तरकारी र गाउँकै मौलिक परिकारले पाहुनाको स्वागत गरिन्छ।
होमस्टेले आर्थिक लाभ मात्र होइन, लोपोन्मुख संस्कार र संस्कृतिको संरक्षणमा पनि महत्वपूर्ण योगदान दिएको छ। पाहुनाको स्वागतमा पञ्चेबाजा बजाइने, लोकभजन तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने परम्पराले स्थानीय कला र पहिचानलाई जीवन्त बनाइरहेको छ। क्षेत्री–बाहुन बाहुल्य रहेको लक्ष्मीवासमा विभिन्न समुदायका परिवारको सहकार्यमा होमस्टे सञ्चालन भइरहेको छ। हाल जितबहादुर चापागाईं, षडानन्द अधिकारी, खडक प्रसाईं, प्रेमकुमारी रेग्मी, धनकुमारी बरूवाल, कौशिला रेग्मी, झलकमाया सापकोटा, सीता सापकोटा र पदम पौडेलले होमस्टे सञ्चालन गरिरहेका छन्।
पर्यटकका लागि पुष्प–मदन स्मृति वाटिका, दृश्यावलोकन स्तम्भ, सङ्ग्रहालय र वनभोजस्थल आकर्षणका केन्द्र बनेका छन्। दृश्यावलोकन स्तम्भबाट माडीको समथर फाँट, नवलपुरको दाउन्ने क्षेत्र तथा धौलागिरि र अन्नपूर्ण हिमश्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। अध्यक्ष चापागाईंका अनुसार पर्सा जिल्लास्थित हाल बन्द रहेको छोटी भन्सार पुनः सञ्चालनमा आए भारतबाट समेत ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने विश्वास छ। त्यसबाट माडीको पर्यटन, व्यापार र स्थानीय उत्पादनले थप गति लिने उनको भनाइ छ।
स्थानीयको सक्रियता, मौलिक संस्कृति, प्राकृतिक सौन्दर्य र आत्मीय आतिथ्यका कारण माडी भ्यू मध्यवर्ती सामुदायिक होमस्टे अहिले माडीको पर्यटन विकासको सफल नमुनाका रूपमा स्थापित हुँदै गएको छ। आवश्यक पूर्वाधार, प्रभावकारी प्रचारप्रसार र सरकारी सहयोग विस्तार गर्न सके यस क्षेत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन नक्सामा थप बलियो पहिचान बनाउन सक्ने स्थानीयको विश्वास छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij