चितवन : चितवनको पर्यटनमा नयाँ आकर्षण थप्ने उद्देश्यका साथ वरण्डाभार जैविक मार्गअन्तर्गतका सामुदायिक वन क्षेत्रमा ‘नाइट जीप सफारी’ परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ। चितवन राष्ट्रिय निकुञ्जमा मात्रै केन्द्रित पर्यापर्यटनलाई सामुदायिक वनसम्म विस्तार गर्ने लक्ष्यसहित नाइट जीप सफारीको अवधारणा अघि बढाइएको पञ्चकन्या सामुदायिक वनका अध्यक्ष गोविन्द स्याङ्त्यागले बताए ।
रत्ननगर नगरपालिको दक्षिण क्षेत्रभित्र पर्ने पञ्चकन्या सामुदायिक वन, कालिका नगरपालिका भित्र पर्ने चर्तुमुखी र भीमवली सामुदायिक वनले संयुक्त रूपमा करिब ३० किलोमिटर लामो जंगल मार्ग तयार गरी परीक्षणका रूपमा नाइट सफारी सुरु गरेका वागमती प्रदेश सरकारका पर्यटन सचिव दिपेन्द्र सुवेदीले बताए । उनले नेपालमा नै पर्यटन क्षेत्रमा नयाँ प्रोडक्टका रूपमा नाईट सफारी लिदै आफूले लगानी गर्दै अगाडस बढ्ने स्पष्ट पारे । वन उपभोक्ता समूहका पदाधिकारीका अनुसार परीक्षण सफल भएपछि यसलाई नियमित पर्यटन गतिविधिका रूपमा सञ्चालन गरिनेछ।
वरण्डाभार क्षेत्र चितवन राष्ट्रिय निकुञ्जलाई महाभारत क्षेत्रसँग जोड्ने महत्वपूर्ण जैविक मार्ग हो। प्रभावकारी संरक्षणका कारण यस क्षेत्रमा एकसिङ्गे गैँडा, पाटेबाघ, चितुवा, भालु, जरायो, चित्तल, बँदेललगायतका वन्यजन्तु सहज रूपमा देख्न सकिने भीमवली सामुदायिव वनका अध्यक्ष मछिन्द्र पाण्डेले जानकारी दिए । रातिको समयमा वन्यजन्तुको प्राकृतिक गतिविधि अवलोकन गर्न सकिने भएकाले नाइट सफारी पर्यटकका लागि थप आकर्षण बन्ने अपेक्षा गरिएको छ।
सामुदायिक वनहरूले संरक्षणसँगै पर्यापर्यटनलाई प्राथमिकतामा राख्दै जंगलभित्र रहेका तालतलैया मर्मत–सम्भार, वन्यजन्तु अवलोकनका लागि मचान निर्माण तथा पर्यटकमैत्री पूर्वाधार विकासका कामसमेत अघि बढाएका छन्।
यस अभियानमा बागमती प्रदेश सरकार, स्थानीय पालिका, डिभिजन वन कार्यालय चितवन र क्षेत्रीय होटल संघ सौराहाको सहकार्य रहेको छ। होटल व्यवसायीहरूले नाइट सफारीमा पर्यटक लैजाने प्रतिबद्धता जनाएसँगै सामुदायिक वनका पदाधिकारी उत्साहित बनेका छन्।
वन उपभोक्ता समितिका प्रतिनिधिहरूले संरक्षणबाट मात्रै सीमित लाभ लिने अवस्था अन्त्य गर्दै अब पर्यापर्यटनमार्फत स्थानीय समुदायको आयआर्जन बढाउने लक्ष्य राखिएको बताए। नाइट सफारी नियमित रूपमा सञ्चालनमा आए चितवनको बसाइ अवधि लम्बिने, सामुदायिक वनमा पर्यटकको आकर्षण बढ्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने क्षेत्रिय होटल संघ सौराहाका महासचिव महेश खनालले बताए । विश्वास गरिएको छ। यसलाई चितवनको नयाँ पर्यटन उत्पादनका रूपमा विकास गर्ने तयारी भइरहेको सरोकारवालाले बताएका छन्। पहिलो चरण यस क्षेत्रमा वेलुका ५ देखि ९ बजेसम्म नाईट जीप सफारी हुनेछ । जसका लागि प्रति जीप ५०० रूपैया लाग्नेछ ।