Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

धान दिवसमा सौराहाको ग्रीन सोसाइटी स्कुलले सिकायो व्यवहारिक शिक्षा, विद्यार्थी आफैंले गरे धान रोपाइँ

धान दिवसमा सौराहाको ग्रीन सोसाइटी स्कुलले सिकायो व्यवहारिक शिक्षा, विद्यार्थी आफैंले गरे धान रोपाइँ

चितवन : राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा देशभर रोपाइँ, दही–चिउरा खाने र हिलो खेल्ने कार्यक्रम भइरहँदा चितवनको सौराहास्थित ग्रीन सोसाइटी पब्लिक स्कुलले भने फरक शैलीमा दिवस मनाएको छ। विद्यालयले धान दिवसलाई विद्यार्थीको व्यवहारिक सिकाइसँग जोड्दै खेतमै लगेर धान रोप्न सिकाएको हो।

विद्यालयले धान दिवसको अवसरमा विद्यार्थीहरूलाई धान, खेतीपाती, हिलो र कृषिको महत्वबारे जानकारी दिने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा विद्यार्थीहरूले धान दिवसको महत्व झल्काउने गीत, नृत्य तथा विभिन्न प्रस्तुति दिएका थिए।

कार्यक्रमको मुख्य आकर्षण भने विद्यालय नजिकैको खेतमा गरिएको धान रोपाइँ थियो। रोप्नका लागि तयार पारिएको खेतमा विद्यार्थीहरू लामबद्ध भएर स्वयं धान रोप्न सहभागी भए। कार्यालय सहायक दुर्गा खनालले धानको बेर्ना समाउने तरिका, रोपाइँको दूरी र एउटा गुबोमा कति बेर्ना राख्ने भन्ने विषयमा व्यवहारिक प्रशिक्षण दिएपछि विद्यार्थीहरूले खेतमै रोपाइँ गरेका थिए।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख रोविन अधिकारीले विद्यालयले नियमित रूपमा व्यवहारिक सीपमा आधारित शिक्षा दिँदै आएको र धान दिवसको अवसरमा गरिएको कार्यक्रम पनि त्यसैको निरन्तरता भएको बताउनुभयो। धान रोपाइँमा सहभागी विद्यार्थीहरूले प्रत्यक्ष गरेर सिक्दा विषयवस्तु बुझ्न सहज भएको र यस्तो सिकाइ दीर्घकालसम्म सम्झन सकिने अनुभव सुनाए। उनीहरूले पुस्तकमा पढेको ज्ञानलाई व्यवहारमा उतार्न पाउँदा निकै उत्साहित भएको प्रतिक्रिया दिएका थिए।

विद्यालयका प्रधानाध्यापक गोपीलाल श्रेष्ठले नेपालमा व्यवहारिक शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै विद्यार्थीलाई कृषि कर्मसहित जीवनोपयोगी सीप प्रत्यक्ष अभ्यासमार्फत सिकाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार यसले विद्यार्थीलाई धान रोप्ने प्रक्रिया बुझ्नुका साथै कृषिप्रति सम्मान र रुचि विकास गर्न मद्दत पुग्नेछ।

विद्यालयका प्रबन्ध निर्देशक शीलाल परियारले यसअघि पनि विद्यार्थीलाई आलु, केराउलगायत विभिन्न बाली लगाउन सिकाइएको र उनीहरूले उत्पादन गरेका कृषि उपज होटल तथा अभिभावकले समेत खरिद गरेको जानकारी दिनुभयो। उहाँले किताबी ज्ञानसँगै व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै विद्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। विद्यालयका अनुसार चाडपर्व र विशेष दिवसलाई व्यवहारिक शिक्षासँग जोडेर सञ्चालन गरिने यस्ता गतिविधिले विद्यार्थीमा श्रमको सम्मान, कृषि ज्ञान र आत्मविश्वास विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij