सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु तथा रांगा जोतेर परम्परागत शैलीमा धान रोपाइँ गर्दै रोपाइँ दिवस मनाइएको छ।
गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय आदिवासी समुदायका माझी, मगर, नेवार र तामाङ समुदायको उत्साहजनक सहभागिता रहेको थियो। परम्परागत कृषि संस्कृति संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा आधुनिक कृषि उपकरणको बढ्दो प्रयोगका बीच पुरानो शैलीको सामूहिक रोपाइँलाई पुनर्जीवित गर्ने प्रयास गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा करिब पाँच रोपनी खेतमा २० हल गोरु र रांगा जोतेर रोपाइँ गरिएको थियो। असारे भाकासहित रोपारहरूले खेतमा ‘छुपुमा छुपु’ गर्दै धान रोपेपछि गाउँको वातावरण सांस्कृतिक उत्सवमय बनेको थियो। रोपाइँसँगै सहभागीहरूले खेतमै हिलो खेल्ने, एकअर्कालाई हिलो दल्ने, असारे गीत गाउने तथा डोरी तान्ने (टग अफ वार) जस्ता मनोरञ्जनात्मक गतिविधिमा पनि सहभागिता जनाएका थिए।
गाउँपालिकाले यस्ता कार्यक्रमले परम्परागत कृषि संस्कृति जोगाउनुका साथै नयाँ पुस्तालाई स्थानीय मौलिक परम्परा र सामूहिक श्रमको महत्वबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। आधुनिक प्रविधिको प्रयोगसँगै हराउँदै गएको परम्परागत रोपाइँ संस्कृतिलाई जोगाउन आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।