Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त

असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त

भक्तपुर : दही–चिउरा खाने पर्वका रूपमा चिनिने असार १५ को अवसरमा भक्तपुरको प्रसिद्ध ‘जुजु धौ’ को उत्पादन अन्य दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ। भक्तपुर–८, च्याम्हासिंहस्थित सैजु जुजु धौका अनुसार पर्वका कारण बजारमा दहीको माग ह्वात्तै बढ्ने भएकाले सामान्य दिनको तुलनामा धेरै परिमाणमा दूध जमाएर जुजु धौ तयार गरिएको हो। बजारको यो ठुलो मागलाई पूरा गर्न उद्योगका कर्मचारीहरू बिहानैदेखि उत्पादन र व्यवस्थापनमा व्यस्त रहेका छन्।

जुजु धौ बनाउनका लागि ताजा दूधलाई आवश्यक तापक्रममा उमालेर चिस्याउने गरिन्छ। त्यसपछि उक्त दूधलाई प्लास्टिकका बट्टा तथा माटाका भाँडाहरूमा राखी निश्चित तापक्रममा जमाउन छाडिन्छ। करिब पाँचदेखि छ घण्टाको अवधिमा दूध स्वादिष्ट जुजु धौमा परिणत हुने गर्छ। उत्पादकका अनुसार माटाका भाँडाले अतिरिक्त चिस्यान सोस्ने भएकाले यसरी तयार पारिएको दहीको स्वाद, गाढापन र गुणस्तर अझ उत्कृष्ट हुन्छ। यही परम्परागत विधि र शुद्ध दूधको प्रयोगले नै भक्तपुरको जुजु धौलाई देशभर विशेष पहिचान दिलाएको छ।

असार १५ मा दही–चिउरा खाने नेपाली परम्परासँगै जुजु धौको माग हरेक वर्ष बढ्ने गर्छ। परम्परागत स्वाद र विशिष्ट गुणस्तरका कारण भक्तपुरको जुजु धौ उपभोक्ताहरूको पहिलो रोजाइमा पर्ने गर्दछ। नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठुलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोजभतेर, जुनसुकै शुभकार्यमा पनि दहीको उपयोग अनिवार्य मानिन्छ। दहीको यही ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको भक्तपुरमा हाल पाँच दर्जनको हाराहारीमा जुजु धौ व्यवसायीहरू सक्रिय रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij