Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि सांसद केपी खनालको माइक काटियो

सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि सांसद केपी खनालको माइक काटियो

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले सभामुख डोलप्रसाद अर्याललाई सम्बोधन गर्ने क्रममा ‘सम्माननीय सभामुख महोदय’को सट्टा ‘कर्मचारी महोदय’ भनेपछि सदनमा केहीबेर हलचल भएको छ। उक्त सम्बोधन लगत्तै सभामुखले उनको माइक बन्द गराएका थिए।

आकस्मिक समयमा बोल्दै खनालले कैलालीस्थित लम्कीचुवा अस्पतालको दयनीय अवस्था र त्यहाँ कार्यरत कर्मचारीले भोग्नुपरेका समस्याबारे धारणा राखिरहेका थिए। सोही क्रममा शब्द चिप्लिएर उनले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेर सम्बोधन गरेका हुन्।

आफ्नो मन्तव्यमा उनले लम्कीचुवा अस्पताल स्थानीय तह र प्रदेश सरकारबीचको विवादका कारण बन्धक बनेको आरोप लगाए। “साँढेको जुधाइँमा बाच्छाको मिचाइँ भनेझैँ लम्कीचुवा अस्पताल नगरपालिका र प्रदेशको आन्तरिक जुँगाको लडाइँले बन्धक बनेको छ,” उनले भने। खनालका अनुसार मन्त्रिपरिषद्ले अस्पताललाई १५ शय्याबाट ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरे पनि स्थानीय सरकार र प्रदेश सरकारबीचको विवादका कारण कार्यान्वयन हुन सकेको छैन।

कर्मचारीहरूले भोगिरहेका समस्याबारे बोल्ने क्रममा उनले भने, “काम गर्ने कर्मचारीले काम गर्न पाउँदैन, प्रादेशिक अस्पताल बन्नुपर्छ भनिएको छ तर बन्दैन। अनि यहाँ चाहिँ उहाँहरू आदर्शका कुरा गर्नुहुन्छ।” उनको सम्बोधनमा ‘कर्मचारी महोदय’ शब्द प्रयोग भएपछि सदनमा केहीबेर खासखुस भएको थियो भने सभामुखले तत्काल माइक बन्द गराएका थिए। प्रतिनिधिसभा नियमावलीअनुसार सभामुखलाई ‘सम्माननीय सभामुख महोदय’ भनेर सम्बोधन गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij